काठमाडौँ – अमेरिका र वेष्ट वेष्ट इण्डिजमा जारी विश्व क्रिकेटको महाकुम्भ आईसीसी टी–२० विश्वकपमा नेपालले आफ्नो यात्रा आजदेखि सुरु गर्दैछ । २० राष्ट्र सहभागी विश्वकपको समूह ‘डी’मा रहेको नेपालले आफ्नो पहिलो खेल आज नेदरल्याण्डसविरुद्ध खेल्न लागेको हो ।
खेल नेपाली समय अनुसार राती ९ः१५ बजे अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा हुनेछ । नेपाल चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्याण्डविरुद्ध आज जित निकाल्दै विश्वकपको सुखद सुरुवात गर्ने दाउमा रहेको छ ।
नेपाली टोलीको नेतृत्व २१ वर्षीय कप्तान रोहित पौडेलले गर्दैछन् । २१ वर्ष २७६ दिनका उनले टी–२० विश्वकपका कुनै पनि देशको कप्तानी गर्ने सबैभन्दा कान्छा खेलाडीको विश्व कीर्तिमान समेत कायम गरेका छन् । खेलमा अमेरिकामा रहेका नेपालीहरुको बाक्लो उपस्थिति हुने अपेक्षा गरिएको छ ।
हेड–टु–हेडमा को छ अघि ?
नेपाल र नेदरलयाण्डबीछ हालसम्म १२ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमध्ये नेदरल्याण्डले ६ खेल जितेको छ भने नेपालले ५ खेल जितेको छ । १ खेल भने अनिर्णित बनेको छ ।
पछिल्लो समय यी दुई टोलीले गत फेब्रुअरी–मार्चमा काठमाडौँको कीर्तिपुरमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा प्रतिस्पर्धा गरेका थिए । जसमा दुई टोलीबीच खेलिएका ३ खेलमध्ये नेदरल्याण्डले २ र नेपालले १ खेल जितेका थिए ।
एशोसिएट्स देशको सबैभन्दा बलियो टोली मानिने नेदरल्याण्डले सन् २०१४ यताका सबै टी–२० विश्वकप खेल्दै आएको छ । यस्तै उसले गत अक्टोबर–नोभेम्बरमा भारतमा भएको आईसीसी एकदिवसीय क्रिकेट विश्वकप समेत खेलेको थियो ।
ठूला खेलमा ठूला राष्ट्रलाई समेत स्तब्ध पार्न माहिर नेदरल्याण्डविरुद्ध नेपालले आफ्नो सम्पूर्ण शक्ति लगाएर जित निकाल्ने प्रयास गर्नेछ ।
१० वर्षपछि विश्वकपमा नेपाल, सुपर–८ मा पुग्ने लक्ष्य
नेपाल १० वर्षपछि टी–२० विश्वकप खेल्दैछ । नेपालले पहिलो पटक यसअघि सन् २०१४ का बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । उक्त विश्वकपमा नेपालको यात्रा समूह चरणमै सीमित भएको थियो ।
समूह चरणमा नेपालले हङकङ र अफगानिस्तानविरुद्ध जित निकाले पनि आयोजक बंगलादेशविरुद्ध हार व्यहोरेको थियो । ३ खेलमा समान २ जितसहित समान ४ अंक भए पनि बंगलादेश नेट रनरेटमा अघिल्लो चरणमा प्रवेश गरेको थियो भने नेपाल रनरेट कम भएकै कारण बाहिरिनु परेको थियो ।
यसपटकको विश्वकपमा नेपालले समूह चरण पार गर्दै सुपर–८ मा पुग्ने लक्ष्य राखेको छ । यसपटक पनि नेपालको समूहमा बंगलादेश रहेकाले सन् २०१४ को हारको बदला लिनु नेपालको अर्को लक्ष्य हुनेछ ।
जुन १ देखि अमेरिका र वेष्ट वेष्ट इण्डिजमा सुरु भएको विश्वकपमा नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्दैछन् । २० टोलीलाई विभिन्न ४ समूहमा विभाजन गरेको छ । जसअनुसार नेपाल समूह ‘डी’मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड रहेका छन् ।
यस्तै समूह ‘ए’मा भारत, पाकिस्तान, आयरल्याण्ड, क्यानडा र अमेरिका रहेका छन् भने समूह ‘बी’मा वर्तमान विश्व विजेता इंगल्याण्ड, अष्ट्रेलिया, नामिबिया, स्कटल्याण्ड र ओमान रहेका छन् । यस्तै समूह ‘सी’मा न्यूजिल्याण्ड, वेष्ट इण्डिज, अफगानिस्तान, युगाण्डा र पपुवा न्यूगिनी रहेका छन् ।
प्रत्येक समूहमा उत्कृष्ट २ टोलीले सुपर ८ मा स्थान बनाउनेछन् । नेपालले गतवर्ष अक्टोबर–नोभेम्बरमा नेपालमा भएको एशिया क्षेत्र छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै दोस्रो पटक टी–२० विश्वकपमा छनोट भएको थियो ।
यसअघि नेपालले पहिलो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो । जहाँ नेपालले ३ मध्ये २ खेल जिते पनि रनरेटमा बंगलादेश भन्दा पछि पर्दा समूह चरणबाटै बाहिरिएको थियो ।


























































