काठमाडौँ – नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले मुलुकलाई दुर्घटनाबाट जोगाउन संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा सांसद गौतमले सुशासनको प्रत्याभूति गर्दै जनतामा आशा बढाउन नसके मुलुक दुर्घटनातर्फ जाने भन्दै मुलुकलाई जोगाउन संविधान संशोधन गर्नुपर्ने बताएका हुन् । उनले दलगत आग्रह र पूर्वाग्रहलाई छाडेर संविधान संशोधनका लागि राष्ट्रिय सरकार निर्माण गर्दै संघीयता, निर्वाचन प्रणाली लगाएका विषयमा छलफल गरेर संशोधनको बाटोतर्फ अघि जानुपर्ने धारणा राखे ।
देशमा पटक पटक गठबन्धन र सरकार परिवर्तन भएपनि जनतामा भने कुनै आशाको सञ्चार नभएको उनको भनाइ छ । सांसद गौतमले जनतामा आशा र भरोशा दिलाउनका लागि पनि दलहरु गम्भीर हुनुपर्ने जिकिर गरे ।
त्यस्तै राप्रपा सांसद विक्रम पाण्डेले राष्ट्रिय सहमतिका साथ आफुले गरेको गल्तीलाई स्वीकार गरेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले देशलाई समस्याबाट मुक्त गर्नका लागि सबै दलहरु गम्भीर हुनुपर्ने उल्लेख गरे ।
उनले गणतन्त्ररुपी गाडीको तेल सकिसकेको भन्दै गन्तव्यमा पुराउन नयाँ सोचका साथ अघि बढ्नुपर्ने बताए ।


























































