काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन भारत जाने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
मोदीले ९ जुनमा प्रधानमन्त्रीको शपथ लिँदैछन् । त्यसका लागि मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंगेलगायत नेताले सहभागी हुन निमन्त्रणा स्वीकार गरेका थिए । उक्त निमन्त्रणा प्रधानमन्त्री प्रचण्ड, हसिना लगायतका नेताले स्वीकार गरेका छन् ।
यसअघि प्रधानमन्त्री दाहाल र हसिना दुवैले यसअघि भारतीय प्रधानमन्त्री मोदीलाई १८औँ लोकसभा चुनावमा एनडिएको विजय प्रदर्शनका लागि बधाई दिएका थिए।
सन् २०२४ को लोकसभा चुनावको मतगणना मंगलबार सम्पन्न भएको थियो । भारतीय निर्वाचन आयोगका अनुसार भाजपाले दुई सय ४० सिट जितेको छ, जुन सन् २०१९ को तीन सय तीन सिटभन्दा निकै कम हो। यसले सरकार गठनका लागि गठबन्धनको सहयोग आवश्यक हुनेछ।
अर्कोतर्फ, मुख्य विपक्षी कांग्रेसले सन् २०१९ को चुनावमा ५२ सिट जितेकोमा हाल ९९ सिट जितेर संसदमा विपक्षी स्वरलाई सशक्त बनाउने सुनिश्चितता गरेको छ।



























































