काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा उत्पादन खुला गर्ने आवश्यक नियमावली ल्याउने बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा लामिछानले औषधि र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्नका लागि नियमावली बनाउन मन्त्रालयले अध्ययन गरिरहेको भन्दै एक महिनाभित्रै नियमावली आउने बताएका हुन् ।
नेपालमा गाँजालाई व्यवसायीकरण गर्ने उद्देश्यले नै बजेट विनियोजन गरिएको भन्दै आवश्यक सुरक्षा चुनौतीका विषयमा मन्त्रालयले गम्भीर भएर काम गर्ने उनले बताए । यसअघिका बिभिन्न प्रतिवेदनलाई अध्ययन गरेर अन्तिम निष्कर्ष निकाल्ने अवस्थामा गृहमन्त्रालय आएको उनको भनाइ छ ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले मुलुकलाई आर्थिक रुपमा अघि बढाउनका लागि नै गाँजाको औषधि र औद्योगिक प्रयोजनका लागि उत्पादनमा जोड दिइएको जानकारी दिए । अप्रत्यक्ष रुपमा गाउँगाउँमा गाँजा खेती भइरहेको सन्दर्भमा अनुसन्धानका लागि गाँजा तत्काल खुला गरिँदा कसैले पनि डर मान्न नपर्ने तर यसका कारण हुने विकृतिलाई भने ध्यान दिइनुपर्ने उनले बताए ।
बैठकमा समिति सदस्यहरले व्यवस्थित रुपमा गाँजा उत्पादनलाई खुल्ला गर्न सके मुलुकको आर्थिक अवस्थालाई पनि सहयोग पुग्ने धारणा राखेका थिए । यद्दपि यसका कारण हुनसक्ने नकारात्मक अवस्थालाई नियन्त्रण गर्न राज्यले आवश्यक कानून बनाउनुपर्ने उनीहरुको सुझाव छ । गाँजा खेतीको औषधी प्रयोजनको लागि व्यवसायीक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयलाई वैधानिकता दिन कानूनी वातावरण मिलाउने सम्बन्धमा समितिले सरोकारवाला मन्त्रालयहरुसंग छलफल गरेको हो ।



























































