काठमाडौं- सरकारले आगामी पाँच वर्षभित्र यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा र सार्वजनिक यातायातमा व्यापक सुधार गर्ने तयारी गरेको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पोअन्तर्गत आयोजित ‘नाइमा मोबिलिटी संवाद’मा सहभागी विज्ञ तथा अधिकारीहरूले यातायात क्षेत्रलाई प्रविधि र व्यवस्थित प्रणालीमा आधारित बनाउने योजनाबारे जानकारी दिएका हुन्।
प्रतिनिधिसभा सदस्य एवं पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले प्रविधिमार्फत सवारी निगरानी, ट्राफिक व्यवस्थापन र नियम उल्लंघन गर्ने चालक तथा सवारीको पहिचान गरी कारबाही गर्ने प्रणाली विकास गरिने बताएका छन्। उनले सडक निर्माणसँगै यसको व्यवस्थापनमा समेत राज्यको ध्यान जानुपर्ने र सार्वजनिक यातायातमा सरकारी लगानी बढाउनुपर्ने धारणा राखेका छन्।
त्यसैगरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेशप्रसाद काफ्लेले उपत्यकामा २० लाखभन्दा बढी सवारी सञ्चालनमा रहे पनि ट्राफिक व्यवस्थापन अझै हात र सिठ्ठीको भरमा गर्नुपर्ने अवस्था रहेको बताएका छन्। उनले तीव्र गति, मादक पदार्थ तथा लागूऔषध सेवन र लेन अनुशासन उल्लंघनलाई सडक दुर्घटनाका प्रमुख जोखिमका रूपमा औंल्याएका छन्।
पूर्वाधार विकास मन्त्रालयका विज्ञ सल्लाहकार अनुकूल निधिले सार्वजनिक यातायात सुधार सरकारको प्राथमिकतामा रहेको बताए। उनले राष्ट्रिय यातायात नीति २०८३ कार्यान्वयनसँगै यातायातमा नयाँ प्रविधि भित्र्याउने, राइड सेयरिङलाई व्यवस्थित गर्ने र आवश्यक मापदण्ड निर्माण गर्ने काम अघि बढिरहेको जानकारी दिए।
संवादमा सहभागी वक्ताहरूले प्रविधिको प्रयोग, सडक सुरक्षा, कानुनी सुधार र व्यवस्थित सार्वजनिक यातायातमार्फत यातायात क्षेत्रलाई सुरक्षित, आधुनिक र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्।



























































