काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव नहुने बताएका छन्। उनले लोकतन्त्रलाई जीवन्त राख्न स्वतन्त्र प्रेस, तथ्यमा आधारित बहस र प्रश्न गर्न सक्ने नागरिक समाज आवश्यक रहेको बताएका हुन्।
बुधबार ललितपुरमा आयोजित अनलाइनखबरको ‘४० मुनिका ४०’ युवाहरूको नामावली सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालको संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गरेका छन्।
उनले सत्य र तथ्यमा आधारित पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै राज्यका सबै अंगले प्रेस स्वतन्त्रताको मर्म आत्मसात् गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारितासँगै तथ्यमा आधारित सार्वजनिक बहस आवश्यक रहेको बताएका छन्। प्रश्न गर्न सक्ने नागरिक समाजले मात्रै लोकतान्त्रिक व्यवस्थालाई थप बलियो र उत्तरदायी बनाउन सक्ने उनको भनाइ छ।
उनले भने, ‘लोकतन्त्रबिना स्वतन्त्र र निष्पक्ष पत्रकारिता सम्भव छैन भन्ने पनि हामीले बिर्सन हुँदैन।’
कार्यक्रममा राष्ट्रपति पौडेलले सीमित स्रोतसाधनका बीच आफ्नो क्षेत्रमा उल्लेखनीय काम गरिरहेका युवाहरूको पहिचान र प्रोत्साहन महत्वपूर्ण रहेको बताए। ‘४० मुनिका ४०’ सूचीले विभिन्न क्षेत्रमा क्रियाशील युवा प्रतिभालाई थप उत्साह र प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले युवा पुस्ताको सिर्जनशीलता, क्षमता र योगदानलाई समाज तथा राष्ट्र निर्माणमा जोड्नुपर्ने आवश्यकता समेत औँल्याएका छन्।



























































