काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा आज साँझ आयोजित विशेष समारोहमा सहभागी भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको सपथ गराएकी हुन् । सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहाल, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथ लगायत विशिष्ट अतिथि उपस्थित थिए ।

यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरूले समेत पद तथा गोपनीयताको सपथ लिएका थिए।

प्रधानमन्त्री दाहाल सपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए । प्रधानमन्त्री दाहालका साथमा उनकी पुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल लगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्किने कार्यक्रम छ ।

भ्रमणका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।