काठमाडौँ – प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किएका छन् । मोदीको प्रधानमन्त्रीका रुपमा तेस्रो कार्यकालको शपथका लागि आइतबार भारतको नयाँ दिल्ली गएका प्रधानमन्त्री समारोहमा सहभागी भएर सोमबार साँझ स्वदेश फर्किएका हन् ।
सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण फलदायी भएको बताए । प्रधानमन्त्री प्रचण्डले आइतबार मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुका साथै विभिन्न भेटघाट समेत गरेका थिए ।
त्यसक्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग छुट्टछुट्टै भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सम्बन्ध र आपसी सहयोग र दुई देशबीचको विगतमा भएको सन्धि, सम्झौताको कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए ।
भारतीय समकक्षी मादीसँगको भेटवार्तामा बधाई तथा शुभकामना दिनुका साथै नेपाल भ्रमणको निम्तो समेत दिएको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘मैँले मोदीजीलाई नेपाल भ्रमणको लागि पनि निम्ता दिएको छु । उहाँले उपयुक्त समयमा भ्रमण गर्ने बताउनु भएको छ ।’
यस्तै मोदीसँगको भेटमा पञ्चेश्वर जलविद्युत आयोजनालाई अघि बढाउने विषयमा समेत कुराकानी भएको उनले बताए ।



























































