काठमाडौं- भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ हुँदै गएको छ। नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डियाको अन्तर्राष्ट्रिय शाखा एनपीसीआई इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) ले दुई देशबीच निर्बाध सीमापार डिजिटल भुक्तानी प्रणाली विस्तारप्रति प्रतिबद्धता दोहोर्याएको हो।
एनआईपीएलका अनुसार भारतबाट नेपाल र नेपालबाट भारतमा रियल–टाइममा रकम पठाउन सकिने गरी दुईतर्फी ‘पर्सन–टु–पर्सन’ (पीटूपी) भुक्तानी प्रणाली सञ्चालनमा आएको छ। यसका लागि प्रयोगकर्ताले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) प्रयोग गर्न सक्नेछन्। संवेदनशील बैंक खाता विवरण आदानप्रदान नगरी रकम पठाउन सकिने भएकाले कारोबार थप सुरक्षित र सहज हुने बताइएको छ।
यस्तै, नेपाल भ्रमणमा आउने भारतीय यात्रुले यूपीआईमार्फत नेपालका विभिन्न व्यवसायिक प्रतिष्ठानमा क्यूआर कोड स्क्यान गरेर तत्काल भुक्तानी गर्न सक्नेछन्। फोनपे नेटवर्कमा आबद्ध व्यवसायीले यूपीआई भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था रहेको छ।
चन्द्रागिरि हिल्स, मनकामना मन्दिर र पशुपतिनाथ मन्दिरलगायत लोकप्रिय पर्यटकीय तथा धार्मिक स्थलमा समेत यूपीआई भुक्तानी सुविधा उपलब्ध रहेको एनआईपीएलले जनाएको छ। यसले भारतीय पर्यटकलाई नगद बोकेर हिँड्नुपर्ने तथा मुद्रा साट्नुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ।
सन् २०२५ मा २ लाख ९० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल आएको तथ्यांक उल्लेख गर्दै एनआईपीएलले नेपालमा यूपीआईको प्रयोगले पर्यटन, खुद्रा व्यापार, आतिथ्य सेवा तथा दैनिक कारोबारमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्न सहयोग पुर्याएको जनाएको छ।
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको यूपीआई–एनपीआई सम्बन्धले दुवैतर्फ रियल–टाइम पीटूपी रकम स्थानान्तरणको सुविधा उपलब्ध गराएको छ। आगामी दिनमा यूपीआईमा आधारित भुक्तानी समाधानलाई थप विस्तार गर्ने तथा पीटूपी रेमिट्यान्स प्रणालीलाई थप बैंकसम्म पुर्याउने योजना रहेको एनआईपीएलले जनाएको छ।
एनपीसीआई इन्टरनेशनलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले सीमापार भुक्तानीलाई थप सहज, सुरक्षित र किफायती बनाउँदै भारत–नेपालबीचको डिजिटल तथा आर्थिक सम्बन्धलाई अझ बलियो बनाउने लक्ष्य रहेको बताएका छन्।





























































