काठमाडौँ – चितामा लास छ। छेवैमा अगरबत्तीको मन्द वासना आइरहेको छ, नजिकै रातो कपडामा गरगहना, पुरस्कार, धन, सम्पत्ति, कागजात र हवाई टिकट देखिन्छ । वरिपरि खादा र ध्वजापताका, केहीपर लास जलाउन चाहिने काठका मुढा । मृत व्यक्तिको शरीरभरि ट्याटु छ । घोटिएका पैताला, घाँटी र कम्मरमा चोट छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेको कलाकार टासी शेर्पाको ‘मरी लानु के छ र’ शीर्षकमा बनाइएको प्रतिस्थापन कलाको चित्रण हो यो । यो कलाले वास्तविक घटनाको अनूभूति दिलाउँछ। यहाँ जीवनको यथार्थलाई प्रत्यक्ष देखाइएको छ ।
एउटा मानिस बाचुन्जेल धन कमाउन इर्ष्या, घमण्ड, लोभ, लालचमा समाहित हुन्छ तर उनको सिर्जनाले जस्तो जन्मियो त्यस्तै जाने हो, लोभ, मोह व्यर्थ हो भन्ने सन्देश दिएको छ।
“त्यो मानिसभित्रको दुखी आत्मालाई हटाउन मद्दत मिल्छ की भनेर प्रयास गरेको हुँ”, कलाकार शेर्पा भन्छन्, “बाँचुञ्जेल लोभलालच नगरौँ, एक अर्कालाई समान र माया गरौँ भन्न खोजिएको हो ।” उनका अनुसार यो कलाले जीवनको सादगी र अनन्ततालाई जोड दिन्छ ।
लाससँगै ठोस स्थायी सम्पत्तिको प्रतीक छेवैमा छ । मान्छेले बडो जतनका साथ भौतिक सम्पत्ति गहना, पैसा, पुरस्कार र कागजात जोडेर राखेको हुन्छ । उनले त्यो सम्पत्ति क्षणिक हो भनेर मार्मिक रुपमा प्रस्तुत गरेका छन्। यहाँ कला हेर्न पुगेका कतिपय डराउँछन् । कतिपय वास्तविक शव ठानेर टाढै बस्छन् । कोही नजिक पुगेर पनि तर्किन्छन् । वास्तविकता चाल पाएपछि बल्ल खुल्दुली मेटाउन खोज्छन् ।
कलाकार शेर्पा आफैँ ट्याटु आर्टिष्ट भएकाले सिलिकन रबरबाट बनेको शवमा उनले ट्याटु पनि खोपे। नेपालका नेवार र थारु समुदायले ट्याटु प्रयोग गर्छन् । मरेर स्वर्ग जाँदा लैजान पाइने त्यही ट्याटु हो भन्ने गरिन्छ । त्यसैले ट्याटु खोपेर इतिहास सम्झाउन खोजेको उनले सुनाए।
विभिन्न कारणले युवाहरुको अकालमा मृत्यु हुने गरेको छ। त्यसलाई प्रतिविम्बित गर्न घाँटी र कम्मरमा घाउचोट देखाएको उनले बताए। मानिसको जतिबेला पनि मृत्यु हुन सक्छ, लोभ मोह, इर्ष्या क्षणिक हुन्, त्यसलाई त्यागौँ भन्ने सन्देश उनले कलाका माध्यमबाट दिएका छन्। रातो कपडामा राखेको हवाई टिकटले वैदेशिक रोजगारमा गइरहेकाहरुलाई प्रतिविम्बित गर्छ। शेर्पाले भने, “व्यक्तिले जिन्दगीलाई कुर्वानी गरेर विदेश गएका हुन्छन्, परिवार र धन, सम्पतिका लागि तर के उ खुसी छ त? जसको लागि गरिरहेको हो उनीहरुबाट प्रशंसा पाइरहेका छन् त ? भनेर देखाउन खोजेको हो।”
यस कलाले मानिसलाई अस्थायी उपलब्धिभन्दा अर्थपूर्ण अनुभव र सम्बन्धलाई प्राथमिकता दिन प्रोत्साहित गरेको कला हेर्न पुगेका दर्शकहरु बताउँछन् ।
उक्त कलाले जारी राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ मा राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेको छ।



























































