काठमाडौं- साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा बन्द भएको छ। योसँगै बजारमा पुनः बिक्री चाप देखिएको छ।
आज ३४४ कम्पनीको १ करोड २१ हजार ९६६ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब १६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। अघिल्लो दिन बिहीबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
कारोबार भएका कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको बढेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो। यसदिन अधिकांश उपसमूह राताम्य भए। म्युचुअल फन्ड उपसमूह भने सामान्य बढेको छ।
आज सर्वोत्तम पेन्ट्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य पनि करिब १४ प्रतिशतले बढेको छ। यता धौलागिरि लघुवित्तका लगानीकर्ताले भने सबैभन्दा बढी गिरावट बेहोरेका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो। कम्पनीको २६ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि सोलु हाइड्रोपावर र रिडी पावर कम्पनीको कारोबार उच्च रह्यो।
साताको समग्र प्रदर्शन हेर्दा पनि नेप्से कमजोर देखिएको छ। शुक्रबारको गिरावटसँगै यो साता नेप्से करिब २५ अंकले घटेको छ।





























































