काठमाडौं- नेपाल र भारतले सीमाका संवेदनशील क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षा निगरानी बढाउने सहमति गरेका छन् । भारतको देहरादुनमा शुक्रबार सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको १४औँ बैठकमा यस्तो सहमति भएको हो ।
गृह मन्त्रालयका अनुसार सीमाका संवेदनशील स्थानमा सीसीटीभीलगायत आधुनिक तथा नवीनतम प्रविधि र उपकरण प्रयोग गरी सुरक्षा निगरानी थप प्रभावकारी बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन् ।
बिहीबारदेखि सुरु भएको बैठकमा दशगजा क्षेत्रको अतिक्रमण तथा अनधिकृत प्रयोग नियन्त्रण गर्ने विषयमा पनि गहन छलफल भएको थियो । सीमा क्षेत्रमा देखिने यस्ता समस्या नियन्त्रणका लागि दुवै देशबीच आवश्यक समन्वय र सहकार्य बढाउने विषयमा जोड दिइएको छ ।
बैठकमा एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन तथा उपयोग र पारस्परिक कानुनी सहायता पनि महत्वपूर्ण विषयका रूपमा छलफल भएका थिए ।
सीमा व्यवस्थापनसँग सम्बन्धित समस्या समाधान गर्दै दुई देशबीचको सुरक्षा समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
संयुक्त कार्यदलको बैठकबाट भएको सहमतिसँगै अब नेपाल–भारत सीमाका संवेदनशील क्षेत्रमा प्रविधिको प्रयोगमार्फत निगरानी बढाउने र सीमा सुरक्षालाई थप व्यवस्थित बनाउने तयारी भएको छ ।





























































