काठमाडौँ – युएईको फ्रेन्चाइज्ड क्रिकेट प्रतियोगिता इन्टरनेशनल टी–२० (आईएल टी–२०)को आगामी संस्करणका लागि नेपालका अलराउन्डर दीपेन्द्र ऐरी रिटेन (पुनः आवद्ध) भएका छन् ।
ऐरीलाई उनी आवद्ध गल्फ जायन्टले रिटेन गरेको हो । दीपेन्द्र अघिल्लो संस्करणमा टोलीमा आवद्ध भएका थिए । पछिल्लो समय उनले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको प्रदर्शनलाई हेर्दै टोलीले रिटेन गरेको हो । दीपेन्द्रसंगै टोलीका कप्तान इंगल्याण्डका जेम्स भिन्ससँगै १३ जना खेलाडी रिटेन भएका छन् ।
आवद्ध गल्फ जायन्ट भारतका व्यवसायी गौतम अदानीको स्वामित्वको टिम हो जसमा वेष्टइण्डजका सिम्रन हट्मायर, इंगल्याण्डका क्रिस जोर्डन, नामिबियाका गेरहार्ड इरास्मस, युएईका आयान अजफल खान लगायतका खेलाडी रहेका छन् ।
आईएल टी–२० को पहिलो संस्करणको विजेता गल्फले गत वर्ष सेमिफाइनलसम्म मात्रै पुगेको थियो । प्रतियोगिताको अन्त्यमा मात्रै टोलीमा आवद्ध भएका दीपेन्द्रले कुनै पनि खेल भने खेल्न पाएका थिएनन् ।
आईएल टी–२०को तेस्रो संस्करण आगामी वर्षको जनवरीदेखि हुनेछ ।



























































