काठमाडौँ – एशिया कपको तयारीका लागि श्रीलंका पुगेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ। बुधबार नेपाली टोली श्रीलङ्का डेभलपमेन्टसँगको दोस्रो अभ्यास खेलमा ४ विकेटले पराजित भएको हो ।
सरे भिलेज मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका डेभलपमेन्टले १ बल बाँकी छँदा ६ विकेट गुमाएर जित हात पारेको हो । श्रीलंकाका लागि एन सेनारथ्नेले सर्वाधिक २७ रन बनाइन् । यस्तै एस सन्दिपनीले १९ रन बनाइन् । बलिङतर्फ सवनम राई र कविता जोशीले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ नेपालका लागि कविता कुँवरले सर्वाधिक २९ रन बनाइन् भने कप्तान इन्दु बर्माले २८ रन जोडिन् । श्रीलंका डेभलपमेन्टका लागि देवमी विहंगाले सर्वाधिक ३ विकेट लिइन् । यस्तै एस सन्दिपनीले २ विकेट लिइन् ।
यसअघि पहिलो खेलमा नेपाल ३३ रनले पराजित भएको थियो । नेपालले अन्तिम अभ्यास खेल साउन १ गते खेल्नेछ ।



























































