काठमाडौ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ। कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा प्राप्त गरेको यो सम्मानलाई अर्को ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आईक्यानले काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजना गरेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका हुन्।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, वित्तीय प्रतिवेदन मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कनका आधारमा नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको हो।
अवार्ड प्राप्तिपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवार, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाको साझा उपलब्धि भएको बताए। उनले यस सम्मानले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट सेवाप्रति थप जिम्मेवार बनाएको उल्लेख गरे।
कम्पनीका अनुसार हालसम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ भने २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन भइरहेको छ। साथै, १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको कम्पनीले नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर योगदान दिएको जनाएको छ।
नेपालका ७७ वटै जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको नेपाल लाइफले आगामी दिनमा पनि विश्वास, पारदर्शिता र उत्कृष्ट सेवालाई प्राथमिकतामा राख्दै नागरिकको आर्थिक सुरक्षामा योगदान दिने प्रतिबद्धता जनाएको छ।



























































