काठमाडौं – कामना सेवा विकास बैंकले वित्तीय पारदर्शिता, संस्थागत सुशासन र गुणस्तरीय वार्षिक प्रतिवेदन प्रस्तुतिका लागि नेसनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट बीपीए अवार्ड–२०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रको गोल्ड अवार्ड प्राप्त गरेको छ।
बैंकले लगातार तेस्रो वर्ष उत्कृष्ट प्रदर्शन गर्दै उक्त सम्मान हासिल गरेको हो। यसअघि बैंकले बीपीए अवार्ड–२०२३ मा सिल्भर अवार्ड तथा बीपीए अवार्ड–२०२४ मा गोल्ड अवार्ड प्राप्त गरेको थियो।
बैंकका अनुसार यसको वार्षिक वित्तीय प्रतिवेदन दक्षिण एसियाको प्रतिष्ठित साफा अवार्डबाट समेत निरन्तर सम्मानित हुँदै आएको छ। यसले बैंकले वित्तीय पारदर्शिता, सुशासन र उच्चस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतीकरणमा कायम राखेको प्रतिबद्धता झल्काउने जनाएको छ।
काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई अवार्ड हस्तान्तरण गरेका थिए।
बैंकले यस सम्मानले अन्तर्राष्ट्रिय मापदण्डअनुसार अझ विश्वसनीय, पारदर्शी र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुत गर्ने आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सरोकारवालालाई समयानुकूल, यथार्थपरक र उच्च गुणस्तरको वित्तीय सूचना उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।



























































