काठमाडौँ – निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानले आफ्नो नाम सिफारिसबाट फिर्ता गर्नका लागि निवेदन दिएका छन् । सोमबार संसदीय सुनुवाइ समितिमा निवेदन दिँदै प्रधानले आफ्नो नाम सिफारिसबाट हटाउन माग गरेका हुन् ।


ADVERTISEMENT


उनीविरुद्ध यौन हिंसा र दुर्वव्यवहारको उजुरी परेकाले संसदीय सुनुवाई समितिले उनको नाम स्वीकृत नगर्ने करिब पक्का भएपछि प्रधानले त्यसअघि नै नाम फिर्ताका लागि निवेदन दिएका हुन् । उनले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक रुपमा अतिरञ्जना र भ्रम फैलाएको जिकिर गर्दै आफू उम्मेदवार बन्न नचाहेको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले भनेका छन्, ‘नेपालको संविधान र संसदीय सुनवाई समितिको प्रकृयाको सम्बन्धमा मेरो उच्च विश्वास व्यक्त गर्दछु । मेरो सम्बन्धमा संवैधानिक परिषदको सिफारिस प्रति निष्ठावान रहँदा रहँदै पनि म केन्द्रित मौजुदा दुष्प्रचारको माझमा सिफारिस भएको पदमा रहेर काम गर्ने हौसला र इच्छा बाँकी नरहेकोले भविष्यमा राज्यले प्रदान गर्ने जुनसुकै जिम्मेवारी प्रति निष्ठावान रहने बचनबद्धता सहित सिफारिस भएको निर्वाचन आयोगको आयुक्त पदमा नियुक्तिको लागि मेरो उम्मेदवारी कायम राख्न नचाहेकोले सम्मानित समिति समक्ष जानकारीको लागि अनुरोध गरेको छु ।’

उनको निवेदनपछि आज बिहान ११ बजे बोलाइएको संसदीय सुनुवाई समितिको बैठक बेलुका ५ बजेका लागि सरेको छ । यसअघि गत बुधबार बसेको बैठकले उनको नाममाथि सुनुवाई गर्दै अर्को बैठकमार्फत निर्णय गर्ने जनाएको थियो । उक्त बैठकमा उपस्थित भएका प्रधानले सांसदका प्रश्नको सामना गरेका थिए ।

प्रधानविरुद्ध समितिमा यौन दुव्र्यवहार लगायतका उजुरी परेका थिए । उजुरीपछि संसदीय सुनुवाई समितिमाथि प्रधानको नाम स्वीकृत नगर्न दबाब परेको थियो । केही दिन अघि बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।