काठमाडौं – दया फाउन्डेसनले नेपाली मौलिक संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “ए तपेस्ट्री अफ नेपाली कल्चर एण्ड हेरिटेज (मानवताका जरा : संस्कृति र परम्पराको उत्सव)” शीर्षकको विशेष सांस्कृतिक कार्यक्रम काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा सम्पन्न गरेको छ।


ADVERTISEMENT


कार्यक्रमका प्रमुख अतिथिका रूपमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केदार भक्त माथेमा सहभागी भएका थिए। कार्यक्रममा संस्कृति, शिक्षा, पर्यटन, साहित्य, संगीत तथा सामाजिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


ADVERTISEMENT

# # #


कार्यक्रममा परम्परागत धिमे बाजाबाट अतिथिको स्वागत, कुमारी नृत्य, विभिन्न जातीय सांस्कृतिक पोशाक प्रदर्शन, स्वर्गीय दयाराम भक्त माथेमाका कवितामा आधारित सांगीतिक प्रस्तुति, पौभा तथा समकालीन छ्वाली कलाको परिचय, युवाहरूको सांस्कृतिक प्रस्तुति तथा नेवारी संस्कारसम्बन्धी मौलिक नेवारी भाषाको पुस्तक विमोचन गरिएको थियो।

त्यसैगरी, नेपाली संस्कृति संरक्षणमा योगदान पुर्‍याउने कलाकार, सांस्कृतिक अभियन्ता तथा युवा प्रतिभाहरूलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरिएको फाउन्डेसनले जनाएको छ।

दया फाउन्डेसनले नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि युवा सहभागिता, शिक्षा, अनुसन्धान र सामुदायिक सहकार्यलाई आगामी दिनमा पनि निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, कलाकार, सहभागी, स्वयंसेवक, साझेदार संस्था, सञ्चारकर्मी तथा शुभेच्छुकप्रति फाउन्डेसनले आभार व्यक्त गरेको छ।