काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा पदाधिकारीमा रहेका नेताहरुले आफ्नो धारणा राख्ने क्रम सकिएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।


ADVERTISEMENT


उनका अनुसार बैठकमा अधिकांश नेताले पार्टी वर्गीय धरातलमा फर्कनुपर्ने, शुद्धीकरणलाई प्रभावकारी रुपमा कार्यान्वयन गरेर सङ्गठन निर्माण र जनपरिचालन गर्नुपर्नेमा जोड दिएका थिए ।


ADVERTISEMENT

# # #


सङ्गठन निर्माणका लागि सरकारबाट बाहिरिएपछिको अवस्था सकारात्मक रहेको भन्दै नेताहरुले त्यसका लागि माथिबाटै पहल गर्नुपर्ने बताएका थिए । शुक्रबारदेखि सुरु भएको बैठकमा आजसम्म १८ जना नेताले आफ्नो धारणा राखेका हुन् ।

नेताहरुले उठाएको प्रश्नको मङ्गलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीले खेल्नुपर्ने भूमिका एवम् सरकारमा रहेर गरिएका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको सन्दर्भ लिएर जनतामा जानुपर्ने र सङ्गठन विस्तारलाई विशेष प्राथमिकतामा राखेर नेताहरुले धारणा राखेका थिए ।

नेताहरुको धारणालाई सश्लेषण गरेर अध्यक्ष दाहालले जवाफ दिएपछि थप छलफलका लागि स्थायी समितिको बैठक बोलाउने तयारी गरिएको छ । रासस