काठमाडौँ – परराष्ट्रमन्त्री आरजू राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए । सो क्रममा उनले केहीबेर सेवाग्राहीसंग कुराकानी गरेकी थिइन् भने कर्मचारीले विभागको सेवाका बारेमा जानकारी गराएकी थिए ।
कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्रहीलाई सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिइन् । त्यस्तै उनले सरकारमा निकै अनुभवी पार्टीहरु रहेकाले स्टन्ड गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताइन् । मन्त्री राणाले जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरिन् । विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको उनको भनाइ छ ।
फरक प्रसंगमा मन्त्री राणाले आफुमाथि टिकापुर जग्गा प्रकरण, भूटानी शरणार्थी प्रकरण लगाएतमा लगाइएका आरोपहरु निराधार रहेको बताइन् । कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफूलाई विभिन्न आरोप लगाउने गरेको उनले गुनासो गरिन् ।
उनले नियोजित रुपमा स्टन्ड गर्न विभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताइन् ।




























































