काठमाडौं –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना अघि बढाइने संविधान संशोधनले देशलाई अनावश्यक संवैधानिक जटिलता र द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।


ADVERTISEMENT


बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै थापाले समस्या पहिचान नगरी समग्र संविधानलाई एकैपटक संशोधन गर्ने प्रयास उचित नहुने बताएका छन्।


ADVERTISEMENT

# # #


उनले सरकारले कुनै निश्चित समस्या समाधान गर्ने उद्देश्य नराखी संविधान संशोधनको समग्र एजेन्डा अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। यस्तो कदमले अप्रत्याशित संवैधानिक जटिलता निम्त्याउनुका साथै राजनीतिक ध्रुवीकरण बढाउने र समाज तथा राज्यका आधारभूत संरचनामा असर पार्न सक्ने उनको भनाइ छ।

थापाले लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुभाषिकता, बहुसांस्कृतिक विशेषता तथा समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता संविधानका आधारभूत मान्यतामा नेपाली कांग्रेसले कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

उनले संघ र प्रदेश दुवै तहका संसद तथा मन्त्रिपरिषद्को आकार घटाउने, स्थानीय सरकारलाई थप सशक्त बनाउने र शासन प्रणालीलाई प्रभावकारी बनाउने विषयमा भने कांग्रेस संशोधनका लागि तयार रहेको बताएका छन्। तर, कुनै पनि संवैधानिक संरचनालाई नै खारेज गर्ने उद्देश्यका साथ संशोधन अघि बढाउन नहुने उनको धारणा छ।

सभापति थापाले संवैधानिक निकायहरूलाई स्वतन्त्र, सक्षम र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै ती निकायलाई सरकारको प्रभाव वा नियन्त्रणमा राख्ने प्रयास उचित नहुने बताएका छन्। उनले संवैधानिक निकायहरूमा निष्पक्षता, पारदर्शिता र संस्थागत स्वायत्तता कायम रहनुपर्नेमा जोड दिएका छन्।

साथै, कांग्रेसले पार्टीभित्र र राष्ट्रिय राजनीतिमा कुनै प्रकारको भागबण्डाको राजनीति नगर्ने उल्लेख गर्दै संवैधानिक निकायमा योग्यता, निष्पक्षता र शुद्धताको आधारमा नियुक्ति हुनुपर्ने धारणा व्यक्त गरेका छन्।