विराटनगर- मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच)मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन आयोजना हुने भएको छ।


ADVERTISEMENT


आगामी असार २७ गते शनिबार अस्पतालको सेन्ट्रल हलमा ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ भन्ने नारासहित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ आयोजना हुन लागेको हो। सम्मेलन अस्पतालको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले आयोजना गर्न लागेको जनाएको छ।


ADVERTISEMENT

# # #


सम्मेलनमा नेपाल, भारत र बंगलादेशका विशेषज्ञ चिकित्सकहरूले मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापी तथा क्यान्सर उपचारमा प्रयोग हुने अत्याधुनिक प्रविधिबारे कार्यपत्र प्रस्तुत गर्नेछन्।

बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक सहभागी हुनेछन्। भारतको नयाँ दिल्लीस्थित आरजिसीआईआरसीबाट प्रा. डा. मनोज गुप्ता तथा नेपालबाट डा. अमरदीप चौधरी, डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले प्रस्तुति दिने कार्यक्रम छ।

बीएमसीटीएचले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरी सेवा सञ्चालन गरिरहेको छ। विभाग प्रमुख डा. अमरदीप चौधरीका अनुसार यस प्रविधिले क्यान्सरलगायत जटिल रोगको प्रारम्भिक पहिचान, रोगको फैलावटको मूल्याङ्कन र प्रभावकारी उपचारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। अस्पतालले पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक (HIPEC) सेवा पनि पूर्वी नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइसकेको जनाएको छ।

न्यूक्लियर मेडिसिन रेडियोएक्टिभ पदार्थको प्रयोगमार्फत शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली परीक्षण तथा उपचार गर्ने आधुनिक चिकित्सा विधि हो। यसबाट क्यान्सर, हृदय रोग, हड्डीका समस्या तथा थाइरोइडसम्बन्धी रोगको प्रारम्भिक अवस्थामै निदान गर्न सकिन्छ। मोलिक्युलर इमेजिङ प्रविधिले कोशिकास्तरमै हुने परिवर्तन देखाउने भएकाले रोग चाँडै पत्ता लगाउन सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ।

आयोजकका अनुसार सम्मेलनले नेपाल, भारत र बंगलादेशका विशेषज्ञबीच ज्ञान तथा अनुभव आदानप्रदानको अवसर सिर्जना गर्नेछ। यसबाट स्थानीय चिकित्सकले अन्तर्राष्ट्रिय स्तरको नयाँ प्रविधि र उपचार पद्धति सिक्ने अवसर पाउने तथा पूर्वी नेपालका बिरामीले गुणस्तरीय, भरपर्दो र सहज उपचार सेवा पाउने अपेक्षा गरिएको छ। साथै जटिल रोगको उपचारका लागि काठमाडौं वा विदेश जानुपर्ने बाध्यता समेत क्रमशः घट्ने विश्वास व्यक्त गरिएको छ।

सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत देशका विभिन्न स्थानबाट २५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहने आयोजकले जनाएको छ।