काठमाडौँ – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरुसंग छलफल गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयकका सन्दर्भमा संशोधनकर्ता सांसदसंग छलफल गरेको हो । सो क्रममा उनीहरुले विद्युतीय व्यापारका मार्फत नेपालको उत्पादनलाई विश्व बजारमा सहज रुपमा निर्यात गर्न सक्ने गरि कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विद्युतीयमाध्यमबाट हुने व्यापारबाट हुनसक्ने ठगिलाई नियन्त्रण गर्न विधेयक निकै महत्वपूर्ण हुने बताएका छन् ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन आग्रह गरे । उनले सरकारले तयार गरेका ड्राफ्टमाथि सांसदहरुले दिएका जायज सुझावहरुलाई विधेयकमा समेट्ने प्रतिवद्धता जनाए ।
सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवद्र्धन गर्न उक्त विधेयक ल्याएको हो ।



























































