काठमाडौँ – सुकुमबासी परिवारलाई स्थानान्तरण गरी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा शुक्रबार मध्यराति बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका परिवारहरूको जनजीवन अस्तव्यस्त बनेको छ। सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको तीन महिना बितिसक्दा पनि कार्यान्वयन नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्।
पीडितहरूका अनुसार राति करिब १२:४० बजे सेन्टरभित्र पानी पस्न थालेपछि बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा महिलाहरू थप जोखिममा परेका थिए। बाढीका कारण अधिकांश परिवारका लुगाफाटा, खाद्यान्न, ओढ्ने–ओछ्याउने र दैनिक उपभोगका सामग्री पूर्ण रूपमा भिजेर नष्ट भएका छन्।
पीडित दलमर्दन कामीले सरकारले उचित व्यवस्थापन गर्नुको सट्टा सामान्य राहत वितरणमै सीमित रहेको आरोप लगाए। आफ्नै पुरानो बसोबास क्षेत्रमा समेत जान नदिइएको गुनासो गर्दै उनले रातभर बाढीका कारण सुत्न नपाएको र आफूहरू निराशाको अवस्थामा पुगेको बताए।
उनले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफूहरूमाझ निमोनिया, मिर्गौला र अन्य दीर्घरोगबाट पीडित व्यक्तिहरू रहेको उल्लेख गरे। आफन्तसँग भेटघाट गर्न समेत सहज वातावरण नदिएको उनको गुनासो थियो।
स्थानीय पीडित कान्छीमाया घ्लानले सुतिरहेको अवस्थामा अचानक पानी पसेपछि छाता र हातमा रहेको मोबाइल बाहेक अन्य कुनै सामान जोगाउन नसकेको बताइन्। उनका अनुसार सुरक्षाकर्मीहरू उद्धारका लागि राति करिब ३ बजे मात्रै पुगेका थिए।
उनले सरकारले १५ दिनका लागि भनेर घर भत्काएर यहाँ ल्याए पनि तीन महिनासम्म स्थायी व्यवस्थापन नगरेको भन्दै असन्तुष्टि व्यक्त गरिन्। “हामीलाई पनि सम्मानपूर्वक बाँच्ने अधिकार छ। हामी कसैको लालपुर्जावालाको जग्गा अतिक्रमण गरेर बसेका थिएनौँ,” उनले भनिन्।
अन्य पीडितहरूले पनि सरकारले आफूहरूलाई झुटा आश्वासन दिएर अलपत्र पारेको आरोप लगाएका छन्। केहीले सरकारले पानी पस्ने स्थानमै राखेर आफूहरू आफैँ विस्थापित होऊन् भन्ने मनसाय राखेको समेत आरोप लगाए।
पीडित डम्बर तामाङले बाढीका कारण करिब एक लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जानकारी दिए। उनका अनुसार सामान निकाल्ने समयसमेत नपाउँदा अधिकांश सामग्री हिलोले पुरिएको छ भने बालबालिका चप्पलसमेत बिना हिँड्न बाध्य भएका छन्।
पीडितहरूको भनाइअनुसार होल्डिङ सेन्टरमा मुटु, मिर्गौला, दम लगायतका दीर्घरोगीहरू पनि रहेका छन्। वर्षायाममा चिसो र ओसिलो वातावरणका कारण उनीहरूको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको उनीहरूको गुनासो छ।
उनीहरूले सरकारले १५ दिनका लागि भनेर स्थानान्तरण गरे पनि तीन महिनासम्म कुनै दीर्घकालीन व्यवस्थापन नगरेको, बाहिर जानसमेत अवरोध गरिएको र सुरक्षाकर्मीबाट अमानवीय व्यवहार भोग्नुपरेको आरोप लगाएका छन्।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ओजश्वीराज थापाले व्यवस्थापनमा केही प्राविधिक कमजोरी भएको स्वीकार गरेका छन्। उनले प्रभावित परिवारका लागि तत्काल खाना, डस्ना, ब्ल्याङ्केट तथा स्वास्थ्य सेवाको व्यवस्था भइरहेको जानकारी दिँदै दीर्घकालीन व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी भइरहेको बताए।
वर्षायामका बीच असुरक्षित अवस्थामा रहेका सुकुमबासी परिवारहरूले तत्काल सुरक्षित आवास, क्षतिको उचित क्षतिपूर्ति तथा स्थायी पुनर्स्थापनाको माग गरेका छन्। उनीहरूले सरकार संवेदनशील भएर शीघ्र समाधानमा नलागे मानवीय संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्।






























































