काठमाडौँ– काठमाडौँमा रातिदेखि परेको लगातार वर्षाले यहाँको खोलामा पानीको बहाव बढेको छ । पानीको बाहव बढेसंगै यहाँका विभिन्न क्षेत्र डुबानमा परेको छ ।
भीषण वर्षाले वागमती नदीको पानीको सतह बढेसंगै विशेषगरी काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खुको टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्मका क्षेत्र डुबानमा परेको छ ।
यसैगरि कुलेश्वर फलफूल बजार क्षेत्र, बल्खु तरकारी बजारको उत्तर तथा दक्षिण भाग तथा सुकुम्बासी बस्ती क्षेत्रमा समेत पानी पसेको छ ।
त्यस्तै माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन फुटेर घरहरू डुबानमा परेको छ भने कीर्तिपुर नगरपालिका-६ चोभारमा पनि पहिरो गएको छ ।
नदी तथा खोला किनारमा रहेका बस्ती बाढी र डुबानको उच्च जोखिममा रहेको भन्दै यता सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।



























































