काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारबाट ललितपुरमा सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा विभिन्न ११ वटा एजेण्डा प्रस्तुत गरिएको छ । बैठकले महासमिति बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने एजेण्डा रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन र भ्रातृ संगठनहरुको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने एजेण्डा रहेको उनले बताए । त्यस्तै बैठकले कार्यसम्पादन गरेका निर्णयहरुलाई भने अनुमोदन गरेको प्रवक्ता महतले जानकारी दिए । अन्य एजेण्डाहरुमा भ्रातृ संगठनहरुको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने, १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने, पार्टीका विभिन्न बडादेखि माथिल्लो तहमा रिक्त स्थानका विधानतः पदपूर्ति गर्ने लगाएतका विषयमा पनि केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने उनले बताए ।
त्यस्तै बैठकले नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाका जाँच गर्न आग्रह गरेको प्रवक्ता महतले बताए ।



























































