काठमाडौं- सरकारले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नेतृत्व नियुक्त गर्दै विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढाएको छ। विश्वविद्यालयको उपकुलपतिमा प्रा। डा। सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा। भीमबहादुर चन्द नियुक्त भएका छन्।


ADVERTISEMENT


शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति तथा सभाध्यक्ष सस्मित पोखरेलको उपस्थितिमा बसेको विश्वविद्यालय सभाले सिफारिस समितिको प्रतिवेदनका आधारमा दुवै पदमा नियुक्ति गर्ने निर्णय गरेको हो। सिफारिस समितिका संयोजक प्रा. डा जयराज अवस्थीले सिलबन्दीमा रहेको प्रतिवेदन सभामा पेस गरेका थिए।


ADVERTISEMENT

# # #


मन्त्री पोखरेलका अनुसार उपकुलपति र रजिष्ट्रार छनोट प्रक्रिया पूर्ण रूपमा योग्यता, क्षमता, अनुभव र पारदर्शी प्रतिस्पर्धाका आधारमा सम्पन्न गरिएको हो। १० जना विज्ञ सम्मिलित मूल्यांकन प्रक्रियाबाट योग्यताक्रममा पहिलो स्थान हासिल गरेका उम्मेदवारलाई नियुक्त गरिएको उहाँले बताउनुभयो।

सरकारले विश्वविद्यालयलाई सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य शिक्षाको उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। नवनियुक्त पदाधिकारीको नेतृत्वमा आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापन, शैक्षिक कार्यक्रमको स्वीकृति तथा प्रशासनिक संरचना निर्माणको काम तीव्र रूपमा अघि बढाइने सरकारको तयारी छ।

सरकारका अनुसार यसै शैक्षिक सत्रदेखि विश्वविद्यालयमा पठनपाठन सञ्चालन गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि पाठ्यक्रम निर्माण, प्राध्यापक तथा कर्मचारी व्यवस्थापन, विद्यार्थी भर्ना प्रक्रिया र आवश्यक प्रशासनिक तयारीलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

विश्वविद्यालय सञ्चालनमा आएपछि सुदूरपश्चिमका विद्यार्थीले उच्च स्वास्थ्य शिक्षा अध्ययनका लागि अन्य प्रदेश धाउनुपर्ने बाध्यता घट्ने विश्वास गरिएको छ। साथै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य अनुसन्धानसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा सरकारको छ।

सरकारले नयाँ नेतृत्वले विश्वविद्यालयलाई गुणस्तरीय स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवा प्रवाहको राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्दै प्रदेश र मुलुककै स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।