काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकपछि अर्को बैठक साउन १४ गतेसम्मका लागि स्थगित गर्ने सहमति भएको छ। प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सम्पन्न भएपछि करिब दुई साताको अन्तराल राख्दै अर्को बैठक साउन १४ गते बस्ने निर्णय गरेको हो।
प्रतिनिधिसभाको आजको बैठक सुरु भइसकेको छ। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेसी आयोग, थारु आयोग, मुस्लिम आयोग, आदिवासी जनजाति आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय महिला आयोग र राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न संवैधानिक आयोगका आर्थिक वर्ष २०८०/८१ का वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यस्तै, अर्थसम्बन्धी विधेयक-२०८३ माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ। उक्त विधेयकमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् भने सरकारले उठेका प्रश्नको जवाफ दिने कार्यक्रम पनि रहेको छ।
बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को महासन्धि नं. १५५ (व्यावसायिक सुरक्षा तथा स्वास्थ्य) र महासन्धि नं. १८७ (व्यावसायिक सुरक्षा तथा स्वास्थ्यसम्बन्धी प्रवर्द्धनात्मक रूपरेखा) माथि छलफल गराई अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
आजको बैठकका सबै कार्यसूची सम्पन्न भएपछि प्रतिनिधिसभाको अर्को बैठक साउन १४ गते बस्ने गरी स्थगित गरिनेछ। यस अवधिमा संसदीय समितिहरूले विचाराधीन विधेयकमाथिको दफावार छलफल, प्रतिवेदन तयारी तथा अन्य संसदीय कामलाई निरन्तरता दिनेछन्।
संसद सचिवालयका अनुसार साउन १४ गते बस्ने बैठकमा सरकारका विभिन्न विधेयक, समितिका प्रतिवेदन तथा समसामयिक सार्वजनिक महत्वका विषयमा छलफललाई प्राथमिकता दिइनेछ।



























































