काठमाडौँ– रास्वपा सांसदले आकस्मिक समयमा बोल्दै गर्दा सभामुखले माइक काटेपछि विपक्षी दलले विरोध जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले डेडिकेटेड र ट्रंक लाइनको विवादको विषयमा बोलिरहदा सभामुख देवराज घिमिरेले माइकको लाइन काटेका थिए। सभामुखले लाइन काटेपछि माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदहरू सिटबाट उठेर विरोध गरेका थिए ।
सभामुख घिमिरेले भने विषयभन्दा बाहिर गएर बोलेकाले माइक काटेको बताउदै यो सभामुखको अधिकारको विषय भएको बताएका थिए । तर विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि केहिबेर सदनको कामकारवाही प्रभावित भएको थियो ।
विरोधकैबीच सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानलेलाई बोल्न समय दिएपनि लामिछानेले हरि ढकालले नै आफ्नो विषय राख्न पाउनुपर्ने बताए । विद्युत् महशुल भन्ने बितिकै लाइन काटिनु गम्भीर आपत्तीको विषय भएको उनको भनाई छ ।
त्यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यहरुलाई आफ्नो बिषयबस्तुमा धारणा राख्नबाट रोक्ने काम मान्य नहुने उल्लेख गरे ।
केहिबेरको विवादपछि सभामुख घिमिरेले पुन सांसद ढकाललाई बोल्न समय दिएका थिए । उद्योगीहरुको बिजुलीको लाइन जोड्न प्रधानमन्त्रीले निर्देशन दिएजस्तै महशुल उठाउनका लागि पनि प्रधानमन्त्रीले जवाफ दिनुपर्ने जिकिर गरे । उनले प्रतिपक्षीको आवाज कमजोर नभएको भन्दै भ्रष्टाचारबिरोधी महाअभियानमा रास्वपाले निरन्तर आवाज उठाउने जनाए ।
ढकालले पुन धारणा राखेपछि प्रतिनिधिसभा बैठक सहज रुपमा अघि बढेको थियो ।



























































