धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन् । बुधबारको बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाहले विश्वासको प्राप्त गरेका छन् ।
कूल ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा आजको बैठकमा ४५ जना उपस्थित थिए । जसमध्ये शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा ३६ जना प्रदेश सभा सदस्यले मतदान गरे । उनलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जनाले मत दिएका हुन् ।
मुख्यमन्त्री शाहले प्राप्त गरेको उक्त मत प्रदेशसभामा तत्काल कायम रहेको सलस्य संख्याको बहुमत रहेको भन्दै सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६८(४) अनुसार प्रदेशसभामा विश्वासको मत प्राप्त गरेको घोषणा गरेका हुन् ।
यस्तै माओवादी केन्द्रका ४ र नेकपा एकीकृत समाजवादी पार्टीका ४ गरेर ८ जना प्रदेश सभा सदस्यले विपक्षमा मतदान गरेका छन् । स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशी भने तटस्थ बसे भने राप्रपाकी खेमादेवी बिष्ट र माओवादी केन्द्रका ६ जना प्रदेश सभा सदस्य बैठकमा उपस्थित थिएनन् ।
नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता समेत रहेका शाह गत साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभाको अर्को बैठक साउन ३२ गते शुक्रबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।


























































