काठमाडौँ – अस्ट्रेलिया निवासी योगी आचार्य राजन शर्माले नेपाललाई ‘योग राष्ट्र’का रूपमा विकास गर्न सामूहिक अभियान आवश्यक रहेको बताएका छन्।


ADVERTISEMENT


ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका प्रत्येक घरबाट कम्तीमा एक जनालाई योग शिक्षकको तालिम दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। यसका लागि सरकार, विश्वविद्यालय, योग संस्था तथा विभिन्न सामाजिक संघसंस्थाबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।


ADVERTISEMENT

# # #


आचार्य शर्माले अस्ट्रेलियाली विश्वविद्यालय तथा काठमाडौं विश्वविद्यालयसँग सम्बन्धित अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक प्रमाणपत्र निःशुल्क उपलब्ध गराउने उद्देश्यले आफूले पाठ्यक्रम तयार पारेको जानकारी दिएका छन्।

नेपालको प्राचीन ज्ञान, योग, ध्यान र आयुर्वेदले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिन सक्ने उनले बताएका छन्। योग र ध्यानलाई नियमित जीवनशैलीको हिस्सा बनाउन बेलायतमा रहेका नेपाली समुदायलाई समेत उनले आग्रह गरेका छन्।

सिड्नीस्थित ‘ग्लोबल सोसाइटी फर पिस एन्ड स्पिरिचुअल साइन्स’मार्फत नेपालका प्राचीन ऋषिमुनिको ज्ञान निःशुल्क रूपमा विश्वभर फैलाउने आफ्नो उद्देश्य रहेको शर्माले बताए। “नेपाल अध्यात्म, आयुर्वेद र योगको विश्वव्यापी केन्द्र हो,” उनले भने।

कार्यक्रममा शर्माले सहभागीलाई सरल व्यायाम, योगासन, प्राणायाम तथा मुद्राको अभ्यास गराएका थिए। व्यक्तिको शारीरिक प्रकृति अर्थात् वात, पित्त र कफअनुसार खानपान तथा जीवनशैली अपनाउनुपर्नेमा पनि उनले जोड दिएका छन्।

यसैबीच, रेडिङ नेपाली रनर्सको साप्ताहिक ५ किलोमिटर दौडपछि सहभागीका लागि अङ्कुरित गेडागुडी र ताजा फलफूलसहित पौष्टिक नास्ताको व्यवस्था गरिएको थियो। कार्यक्रममा म्याराथन धावक अशोक चापागाईँ, इन्दिरा चापागाईँलगायत स्थानीय धावकलाई सम्मान गरिएको हो।

युकेको एक साताको भ्रमणका क्रममा आचार्य शर्माले कोभेन्ट्रीमा सापकोटा वेलफेयर सोसाइटीको आयोजनामा तीन दिने योग तथा आयुर्वेदसम्बन्धी कार्यक्रमसमेत सञ्चालन गरेका थिए। भ्रमण सम्पन्न गरी उनी अस्ट्रेलिया फर्किएका छन्।

ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसनका अध्यक्ष भीमसेन खड्काले चौथोपटक रेडिङ आएर स्वयंसेवी रूपमा योगदान पुर्‍याएकोमा आचार्य शर्मालाई धन्यवाद दिएका छन्। कार्यक्रममा डा. कृष्ण अधिकारीले शर्माको समाजसेवाको प्रशंसा गरेका हुन्।