काठमाडौँ – भारतले ७८औँ स्वतन्त्रता दिवस मनाएको छ । भारतले देशभर र विदेशमा रहेका आफ्ना कुटनीतिक नियोगमा विशेष कार्यक्रम गरी स्वतन्त्रता दिवस मनाएको हो । आफ्ना आमाहरुको सम्मानमा मानिसहरुलाई वृक्षारोपण गर्न आग्रह गर्दै विश्व वातावरण दिवस २०२४ मा प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक पेड माँ के नाम’ अभियानको उद्घाटन गरेका थिए। यस पहलले स्वतन्त्रता दिवसमा पनि व्यापक समर्थन एवम् सहभागिता पाएको छ ।
सोही अवसरमा नेपालस्थित भारतीय राजदूतावासले पनि ७८औँ स्वतन्त्रता दिवस विशेष रुपमा मनाएको छ । दूतावासले आफ्नो परिसरमा ७८ वटा बिरुवाहरु रोप्दै भारतको ७८ औं स्वतन्त्रता दिवस मनाएको हो । दूतावासका अधिकारी, तिनका परिवार तथा बालबालिका सम्मिलित यस कार्यक्रमले वातावरणीय दिगोपन तथा विश्वव्यापी कल्याणप्रतिको हाम्रो जारी प्रतिबद्धतालाई झल्काउने दूतावासले जनाएको छ ।
यसअघि नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले दूतावास परिसरमा नीलो गुलमोहरको बिरुवा रोपेर वातावरण संरक्षणको यस कार्यलाई दोहोर्याएका थिए । भारतीय विदेश सचिव विक्रम मिस्रीले पनि २७ गते दूतावास परिसरमै अर्को नीलो गुलमोहरको बिरुवा रोपेर यस अभियानप्रति आफ्नो प्रतिबद्धता रहेको प्रष्ट पारेका थिए ।
वातावरण संरक्षण तथा वातावरणीय दिगोपन प्रवर्द्धन गर्न भारतीय डायस्पोराका सदस्यहरु र भारत–नेपाल मैत्री संघले बिरुवाहरु रोपी यस प्रयासमा सामेल भएका हुन् ।
‘एक पेड माँ के नाम’ अभियानले काम गर्न निरन्तर उत्प्रेरित गर्नुका साथै हाम्रो वातावरणको संरक्षणका लागि सामूहिक जिम्मेवारीमा जोड दिएको भारतीय दूतावासको भनाई छ ।




























































