काठमाडौँ – साँस्कृतिक महत्वको रोपाई जात्रा बुधबार हिमाली जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारी र चैनपुरमा विशेष उत्सवका रुपमा मनाइएको छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा विशेष उत्सवका रुपमा मनाइन्छ ।
रोपाई जात्रा विशेष गरि जिल्लाको खाँदबारी, चैनपुर र पाँचखपनको वाना बजारमा नेवार समुदायले आफ्नो परम्परा अनुसार बाजागाजा, सांस्कृतिक झाकी सहित रोपाई जात्रा निकालेका थिए । हिले जात्रामा नेवार समुदायका युवायुवतीहरुले लाखे नाच, रोपाई, ठ्याकठुके, धिमेबाजा सहितको नेवारी नृत्यहरु प्रदर्शन गरेका थिए ।
साथै उनीहरुले विभिन्न प्रकारका समसामयीक प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । यो रोपाई जात्रा विशेषत रोपाई सकिएको अवसरमा मनाइने गरिन्छ ।


























































