काठमाडौं- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदान र बलिदान रहेको बताएका छन्।
३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासंघ र संघीय परिषद् सचिवालयद्वारा काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आदिवासी जनजातिको योगदान नेपालको संविधान र राज्यव्यवस्थामा समेत समेटिएको बताए।
उनले नेपालको संविधानको मूल मर्म समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसर रहेको उल्लेख गर्दै यी उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
लोकतन्त्र, गणतन्त्र र संघीयताको प्राप्ति आदिवासी जनजातिको अधिकार प्राप्तिको संघर्षसँग गहिरोसँग जोडिएको उनको भनाइ थियो। संविधानले आदिवासी जनजाति, मधेसी, सीमान्तकृत तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गरिसकेकाले अब त्यसको व्यवहारिक कार्यान्वयन आजको मुख्य आवश्यकता रहेको उनले बताए।
उपराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै मुलुकका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सबैको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे।
नयाँ पुस्ताले आफ्नो मौलिक भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै शिक्षा, विज्ञान र प्रविधिको आधुनिक प्रयोगमार्फत अघि बढ्नुपर्नेमा पनि उनले जोड दिए।


























































