– धीरु बस्न्यात


ADVERTISEMENT


नेपालमा राजनीतिक उतारचढावहरु धेरै भए । अहिले पनि १६ वर्षमा १५ वटा सरकारहरु परिवर्तन भइसकेको छ । यो अस्थिरताको चरम सीमा हो । यस्तो उखाडखाबडपूर्ण राजनीतिक भौगोलिक परिस्थितिका बीच नेपाली सेना र नेपाल प्रहरीले ज्यादै मुश्किलका साथ आफ्नो कर्तव्य भूमिका निर्वाह गरिराखेका छन् ।


ADVERTISEMENT

# # #


सेना र प्रहरीले यस्तो अवस्था पहिलो पनि भोगेकै हो ! चाहे अग्रेजसँगको युद्द किन नहोस् वा खम्पा युद्दा अनि माओवादी सशस्त्र द्वन्द्व किन नहोस् । हाम्रा नेपाली सेना र प्रहरीले राष्ट्रको सुरक्षाको लागि धेरै ज्यान उत्सर्ग समेत गरी नाम कमाएका हुन् । यदि उनीहरुले बहादुरीपूर्वक विषम परिस्थितिसित जुध्दैन थे भने राष्ट्रले अझैँ ठूलो क्षति व्यहोर्नु पर्ने हुन्थ्यो। त्यसबेला उनीहरुले राष्ट्रको लागि गरेका बहादुरी कार्यको गाथा र प्रशंसा नभएको होइन । ती सबै जवानहरु र सिपाहीहरु योद्धा कहलाईए । त्यसको चर्चा र परिचर्चा समेत भयो । उनीहरुलाई के मतलब जो आए पनि राष्ट्रको शान्ति बहालीको लागि आफूलाई प्राप्त म्याण्डेट अनरुप निष्ठावान् साथ लडेकै हुन्।

सञ्चारमाध्यमहरुले उनीहरुले गरेका वीरतापूर्वक गाथाहरुकै माध्यमबाट आउने युवा पिढीँलाई देशको लागि लड्नैको लागि हौस्याउन र प्रेरित गर्न जति सक्नुपर्दथ्यो, अहिले त्यो भएको पाइँदैन ।

जवान र सिपाहीले गरेको उक्त कार्यहरु खाली नोकरी र दालभातको लागि थिएनन् । शतप्रतिशत देशप्रति गरेको समपर्णताको प्रमाण थियो । तर, अहिले त्यसको साटो उनीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ । यो खाडललाई सञ्चार माध्यमले चाहेमा पुर्न सक्दछ ।

ती ज्यानको बाजी लगाउने बहादुरहरु सिपाही र जवानहरुको उदाहरण लिँदै युवा नागरिकहरुलाई राष्ट्रभक्ति, राष्ट्रसेवा, राष्ट्र प्रेम, उनीहरुको समपर्णता, त्याग र तपस्या लागि अभिप्रेरित गर्न सक्दछ । राष्ट्र निमार्णका विषय, राष्ट्रियताको विषय, देशभक्तिको मुद्दा र उत्प्रेरित गर्ने विषयहरुमा केन्द्रित सिनेमाहरु र सञ्चारमाध्यमहरुबाट वास्तविक कथाहरु हाम्रो समाजमा प्रेशित भएको पाइन्न ।

यदि छन् भने पनि ती ज्यादै निम्न संख्यामा छन् । यी फिल्महरु र सञ्चारहरु मार्फत कुन विषयमा कसलाई रोल मोडेल बनाउन खोजिरहेको छ ? युवाहरुलाई राष्ट्रभक्ति, राष्ट्रप्रेमप्रति उत्साहित गरिनु भन्दा उनीहरुमा तस्करी, गुण्डा, गिरोहको बारेमा युवाहरु माझ पस्कदै छ । निष्ठावान कला खस्कदै गएको छ । डन वान, डन टु, डन थ्री भन्दै भोलि नरोकिने हो भने ‘डन–टेन’सम्मका फिल्म नबन्ला भन्ने के बेर ? यस्ता फिल्महरुले लुट्नु पर्छ जसरी पनि पैशा कमाउनु पर्छ र आलिशानको महलमा जिन्दगी बिताउनु पर्छ भन्ने दिशातर्फ युवाहरुलाई अभ्रेरित गर्दैछ ।

औँलामा गन्न सकिने राष्ट्रप्रेम, राष्ट्रभक्ति, राष्ट्रसेवासँग सम्बन्धित सिनेमाहरु बजारमा देखिन्छ। अझै दुःखलाग्दो विषय के भने बढी भन्दा बढी ( मानव अधिकार उल्लंघन भएका, मानिसहरुको हत्या, क्रुर मानवीय यातना भएको, जवान अनि सिपाहीको मनोबल खस्काउने सिनेमाहरु पस्किएको पाइन्छ । यसले निश्चय नै बहादुर राष्ट्र प्रेमी प्रहरी र सेनाको हतोत्साहित गर्दैछ ।

राष्ट्रलाई सिनेमा जगतले कता लाँदै छ ? फौजीको बर्खिलापमा रिस भर्दैछ । लडाईमा राष्ट्रको लागि ज्यानको बाजी लगाउने लड्ने योद्दाहरुको बहादुरीपनको चोरी भइराखेको छ । सिपाही र जवानको कर्तव्य, सम्मान र जुझारुपनमा धब्बा लगाउँदैछौ । जसको फलस्वरुप राष्ट्रका जवान र सिपाहीहरुलाई जनताहरुले गालीगलौज गर्न खोजिरहेको छ र उनीहरुको मनोबललाई हतोत्साहित पारिँदै छ ।

यस्ता फिल्महरु र प्रेसित समाचार रोकिनु पर्छ । सेना र प्रहरीको मनोबल उस्काउनु भन्दा पनि खस्काउने काम गरिराखेका छौँ । स्वतन्त्रता, वामपन्थी, राष्ट्रियता र विश्वव्यापारिकरणको नाममा हामी आफ्नो फौजलाई नष्ट र नोक्सान पार्ने खोजिरहेका छौँ । अतः राष्ट्रलाई बचाउने हो भने सम्पूर्ण सच्चा देशभक्त नेपालीहरुले आ–आफ्नो तहाबट सेना र प्रहरीहरुको मनोबल उकास्न एक ठाउमा उभिनु जरुरी पर्छ ।

साथै छिमेकी राष्ट्र बंगलादेशमा आएको हावाहुरीकै कारण अरु छिमेकीहरुले आ–आफ्नो राष्ट्रिय सुरक्षामा दरिलो बनाउन त्यहाँका सेना र प्रहरीहरुको जनशक्तीक्ति बढाउनुकै साथै प्रविधियुक्त र स्रोतसाधनतर्फ प्रार्थमिकता दिन आवश्यक छ । हाम्रो सेना र प्रहरीलाई स्रोत साधनले सम्पन्न र प्रविधियुक्त गरिनु पर्दछ । यसको लागि सरकार समक्ष अनुरोध गर्न चाहन्छु ।

लेखक बस्न्यात नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) हुन् ।