काठमाडौँ – सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले रास्वपाका सभापति रवि लामिछानेसंग बयान लिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तत्कालिन गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतले लामिछानेलाई बयानका लागि बोलाएको हो । गोर्खा मिडियामा बिभिन्न सहकारीबाट गैरकानूनी रुपमा बचतकर्ताको रकम लगानी गरिएको बताइएको छ । यहि विषयलाई लिएर केही महिना अघि सदनमा हंगामा भएपछि छानविन समिति गठन गरिएको थियो । गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगाएतका सहकारीबाट रकम सारिएको आरोप छ ।
त्यस्तै समितिले शुक्रबार नै गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसंग पनि बयान लिएको थियो । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले गत १५ गते छानविन समिति गठन गरेको थियो । समितिको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदैछ । उक्त समयअवधिभित्रै प्रतिवेदन बुझाउने गरी प्रतिवेदनको मस्यौदा समेत तयार भइरहेको समितिले जनाएको छ ।


























































