काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विधि, विधान र पद्धतिविपरीत विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने काम भएको बताएका छन्।


ADVERTISEMENT


कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले विशेष महाधिवेशनका नाममा पार्टीलाई कमजोर बनाउने गरी विधि, विधान र पद्धतिविपरीत गतिविधि भइरहेको बताएका हुन्।


ADVERTISEMENT

# # #


उनले पार्टीको विवादसम्बन्धी विषय अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको अवस्थामा रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए। अदालतबाट न्याय प्राप्त हुनेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ थियो।

देउवाले २००७ सालको संघर्षदेखि वर्तमान युवा पुस्तासम्म कांग्रेसले विभिन्न पुस्ताको योगदान समेट्दै आएको स्मरण गरे। कांग्रेसभित्र चरम विवाद उत्पन्न हुँदा त्यसको असर समग्र मुलुकको राष्ट्रियता र लोकतन्त्रमाथि समेत पर्न सक्ने जोखिम रहेको उनले बताए।

उनले पार्टीभित्र रहेका असहमतिलाई सम्बोधन गर्दै सबैलाई न्याय हुने गरी बृहत्तर एकतामा बाँधिनुपर्नेमा जोड दिए। पार्टीको एकता कुनै व्यक्तिविशेषमा केन्द्रित नभई साझा उद्देश्य र सिद्धान्तमा आधारित हुनुपर्ने उनको भनाइ थियो।

देउवाले संविधान कार्यान्वयनका क्रममा देखिएका कठिनाइको अनुभवका आधारमा बृहत्तर राष्ट्रिय सहमति निर्माण गरी संविधानप्रदत्त व्यवस्थाअनुसार मुलुकलाई निकास दिन आफू प्रतिबद्ध रहेको बताए। साझा उद्देश्य र संकल्प भएका सबै राष्ट्रिय राजनीतिक शक्तिसँग सहकार्य गर्न आफू तयार रहेको उनले स्पष्ट पारे।

उनले बीपी कोइरालाले देखाएको राष्ट्रिय एकता र मेलमिलापको नीति वर्तमान अवस्थामा झनै सान्दर्भिक भएको बताए। कांग्रेसभित्र विश्वासको वातावरण निर्माण गर्दै एकताबद्ध भएर अघि बढ्न सके पार्टीले मुलुकको लोकतान्त्रिक पद्धतिको रक्षा गर्न सफल हुने उनको भनाइ छ।

यसैबीच कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले आफ्नै पूर्वस्थापित नजिर र कानुनी मान्यताविपरीत हुने गरी कांग्रेसलाई कमजोर पार्ने निर्णय गरेको आरोप लगाए। उनले विधानको व्यवस्थाविपरीत महामन्त्री र केही प्रतिनिधिले विशेष महाधिवेशन आयोजना गरेको दाबी गर्दै आगामी १५औँ महाधिवेशनमा जानका लागि विधान संशोधन अनिवार्य भएकाले वर्तमान छलफल निर्णायक हुने बताए।

कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टी अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको भए पनि देश र लोकतन्त्रको हितका लागि कांग्रेस एकढिक्का हुनु अपरिहार्य रहेको बताए। कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दल तथा देशका विभिन्न शक्तिसँग सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्ने उनको भनाइ छ।

उनले पार्टीभित्रको विवादमा अदालतको न्यायिक निर्णयपछि कांग्रेसलाई थप एकताबद्ध बनाएर मुलुकमा पुनः राष्ट्रियता र प्रजातन्त्रको लहर ल्याउनुपर्ने बताए।

भेलामा सहभागी कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलगायत नेताहरूले पनि शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको १५औँ महाधिवेशन हुनुपर्ने धारणा राखेका छन्।