काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला ईभीमा प्रयोग हुने ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन, पुनःप्रयोग तथा रिसाइक्लिङका लागि स्पष्ट र व्यवस्थित प्रणाली बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।


ADVERTISEMENT


‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले शुक्रबार आयोजना गरेको ‘ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण’ विषयक ‘नाइमा मोबिलिटी संवाद’मा सहभागीहरूले यस्तो धारणा राखेका हुन्।


ADVERTISEMENT

# # #


भेइकल फिटनेस टेस्ट सेन्टरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठले नेपालमा ईभीको चेसिस र मोटर नम्बर मात्र दर्ता हुने व्यवस्था रहेकाले अब ब्याट्रीको समेत युनिक पहिचान नम्बर राखी दर्ता तथा ट्र्याकिङ गर्ने प्रणाली बनाउनुपर्ने बताए। यस्तो प्रणालीले ब्याट्री कहाँबाट आयात भएको हो, कसले प्रयोग गरिरहेको छ र रिसाइक्लिङका लागि कहाँ पठाइएको हो भन्ने विवरण राख्न सहज हुने उनको भनाइ छ।

श्रेष्ठले नेपालमा ईभी आयात हुन थालेको लामो समय भए पनि आयातसम्बन्धी स्पष्ट मापदण्ड र निर्देशिका अझै बन्न नसकेको बताए। यद्यपि, त्यसका लागि मस्यौदा तयार गर्ने काम भइरहेको जानकारी दिँदै उनले अहिले नै ईभी ब्याट्री व्यवस्थापनको इकोसिस्टम निर्माण गर्न उपयुक्त समय रहेको बताए।

नाइमाका संस्थापक एवं अटोमोबाइल व्यवसायी आकाश गोल्छाले ब्याट्री व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सवारी आयातकर्तालाई मात्र दिनु व्यावहारिक नहुने बताए। ईभीका अतिरिक्त मोबाइल फोन, ल्यापटपलगायत उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापनसमेत चुनौतीपूर्ण बन्दै गएको भन्दै उनले सरकार, आयातकर्ता, उपभोक्ता र अन्य सरोकारवालाको साझा जिम्मेवारी हुने गरी प्रणाली विकास गर्नुपर्ने बताए।

उनले नेपालबाट पुराना ब्याट्री निर्यात गर्दा समेत कानुनी तथा मूल्यसम्बन्धी समस्या रहेको बताए। भारतमा ब्याट्री रिसाइक्लिङलाई प्रोत्साहन गर्न प्रतिकिलो २ देखि ५ रुपैयाँसम्म रिबेट दिने व्यवस्था रहेको उल्लेख गर्दै नेपालमा पनि यस्तै प्रोत्साहनमूलक नीति आवश्यक रहेको उनको भनाइ थियो।

भारतका प्रा. डा. बलराज भनोटले नेपालमा ईभीको प्रयोग बढ्दै गएकाले पुराना ब्याट्रीको संकलन, पुनःप्रयोग र व्यवस्थापनका लागि अहिलेबाटै स्पष्ट नीति बनाउनुपर्ने बताए। लिथियम ब्याट्रीको आयु सामान्यतया ८ देखि १० वर्ष हुने भएकाले आगामी ४–५ वर्षपछि ठूलो मात्रामा ब्याट्री प्रतिस्थापनको अवस्था आउन सक्ने भन्दै उनले पूर्वतयारी गर्न सुझाव दिए।

उनले ब्याट्री व्यवस्थापनका लागि ‘विस्तारित उत्पादक उत्तरदायित्व’ (ईपीआर) नीति लागू गर्नुपर्ने र सवारी वा ब्याट्री आयातकर्ता, विक्रेता तथा डिलरलाई पुराना ब्याट्री संकलनको कानुनी जिम्मेवारी दिनुपर्ने सुझाव दिए। संकलित ब्याट्रीलाई सूचीकृत रिसाइक्लिङ प्लान्टमा मात्र पठाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

संवादमा सहभागी भारतीय ब्याट्री रिसाइकल कम्पनी रिब्याटका संस्थापक तथा सीईओ करण खुरानाले अटोमोबाइल आयातकर्तालाई नै ब्याट्री रिसाइक्लिङको जिम्मेवारी दिनु व्यावहारिक नहुने बताए। नेपालमा हाल छुट्टै ब्याट्री रिसाइक्लिङ उद्योग नभएकाले कानुनी रूपमा अनुमति प्राप्त छुट्टै रिसाइक्लर कम्पनीमार्फत संकलन तथा प्रशोधन गर्ने व्यवस्था बनाउनुपर्ने उनको धारणा थियो।

लोहम क्लिनटेकका जतिन मक्कारले ईभी ब्याट्रीलाई फोहोरभन्दा पनि मूल्यवान स्रोतका रूपमा हेर्नुपर्ने बताए। ब्याट्रीमा रहेको आलुमिनियम, तामा, लिथियम, निकल र कोबाल्टजस्ता सामग्री पुनःप्रयोग गर्न सकिने भएकाले उचित संकलन र रिसाइक्लिङ प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो।

अटो पत्रकार संघ (जाम) का निवर्तमान अध्यक्ष सागर गजुरेलले ईभी ब्याट्री व्यवस्थापनका लागि स्थापना हुने उद्योगमा सवारी आयातकर्ताहरूले अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिए। धेरै सवारी बिक्री गर्ने कम्पनीले सोही अनुपातमा लगानी गर्ने नीति बनाउनुपर्ने उनको धारणा थियो।

संवादमा ईभी ब्याट्री व्यवस्थापनसँगै नेपालमा इन्धनमा इथानोल मिश्रणको विषयमा पनि छलफल भएको थियो। सहभागीहरूले इथानोल ब्लेन्डिङ अघि प्राविधिक पूर्वाधार, पुराना सवारीसाधनको अवस्था र इन्धन आपूर्ति प्रणालीको अनुकूलतालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।