काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन् ।
गौरा पर्वको कार्यक्रममा सोमबार काठमाडौको टुँडीखेलमा आयोजित कार्यक्रममा उनले मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए । उनले मेलमिलाप र एकअर्काको संस्कृतिलाई सम्मान गर्ने देश नेपाल भएको जिकिर गरे ।
जति बिथोल्न खोजे पनि नेपाली समाज नबिथोलिने बताए । ओलीले सुन्दर सुदूरपश्विमबाट सुरु भएको सो पर्व नेपालको मौलिक पर्व भएको उनले उल्लेख गरे ।
त्यस्तै कांग्रेस सभापति शेर बहादुर देउवाले मुलुकको कला संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । चाडपर्वले देशलाई सवै भागका जनताहरुलाई जोड्ने उनले बताए । नेताहरुले भाषण गर्दै गर्दा युवाहरुले भने मञ्च अगाडीबाट नेताहरुको विरोध गरेका थिए ।
गौरा पूजनका हिसाबले यसदिन महिलाहरूले महत्वपूर्ण मान्दछन् । महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् । आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली पनि भन्ने गरिन्छ ।
हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको कथन रहेको छ ।



























































