काठमाडौं- डिजिटल बैंकिङ सेवालाई अझ सहज, छिटो र सुरक्षित बनाउने उद्देश्यले एनएमबि बैंकले नेपाल सरकारको सूचना प्रविधि विभाग (DoIT)सँग सहकार्य गरेको छ। यस सहकार्यसँगै बैंकका ग्राहकले अब नागरिक एपमार्फत विभिन्न अनलाइन बैंकिङ फाराम सहज रूपमा भर्न सक्ने भएका छन्।


ADVERTISEMENT


बैंकका अनुसार नागरिक एपसँगको एकीकरणपछि ग्राहकले व्यक्तिगत विवरण बारम्बार हातैले प्रविष्ट गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। यसले कागजी प्रक्रिया घटाउने, सेवा प्रवाहलाई छरितो बनाउने तथा डिजिटल बैंकिङ अनुभवलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


ADVERTISEMENT

# # #


एनएमबि बैंकले ग्राहकको गोपनीयता र व्यक्तिगत विवरणको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ। ग्राहकले नागरिक एपमार्फत स्पष्ट रूपमा अनुमति नदिएसम्म बैंकले कुनै पनि व्यक्तिगत विवरण हेर्न वा प्रयोग गर्न नपाउने व्यवस्था गरिएको छ।

बैंकका अनुसार ग्राहकबाट स्वीकृति प्राप्त भएपछि पनि आवश्यक सेवाका लागि माग गरिएको सीमित विवरण मात्र प्रयोग गरिनेछ। यसले डेटा सुरक्षा, गोपनीयता र डिजिटल विश्वासलाई थप मजबुत बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

एनएमबि बैंकले देशमा विस्तार हुँदै गएको डिजिटल सार्वजनिक पूर्वाधार (Digital Public Infrastructure–DPI) को उपयोग गर्दै नागरिकलाई सुरक्षित, सरल र झन्झटमुक्त बैंकिङ सेवा उपलब्ध गराउने आफ्नो रणनीतिअनुसार यो सहकार्य गरिएको जनाएको छ।

बैंकका अनुसार यो पहलले सरकारी डिजिटल प्रणाली र बैंकिङ सेवाबीचको अन्तरसम्बन्धलाई मजबुत बनाउँदै नेपालमा डिजिटल वित्तीय सेवाको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।