काठमाडौँ – गौरा पर्वका अवसरमा सोमबार काठमाडौँको टुँडिखेलमा आयोजित कार्यक्रममा नेताहरुविरुद्ध नाराबाजी गर्नेविरुद्ध नेपाली काँग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आक्रोश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री केपी शर्माओली र आफैविरुद्ध नाराबाजी भएपछि देउवाले युवाहरुप्रति आक्रोश व्यक्त गरे । आफू भाषण गरिरहँदा पनि नाराबाजी नरोकिएपछि सभापति देउवाले जंगिए, ‘लाज पनि छैन ? अर्काको कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरु !’
उनी थप आक्रोशित बने, ‘यही हो नेपालीको संस्कृति ? यही हो नेपालीको चलन ? यही सिकेर आएको हो ? बदमासहरु !’ उनले मुलुकको कला संस्कृतिलाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । चाडपर्वले देशलाई सबै भागका जनताहरुलाई जोड्ने उनले बताए ।
यसअघि कार्यक्रममा प्रधानमन्त्री केपी शर्माओलीले समेत आफूविरुद्ध नाराबाजी भएपछि असन्तिुष्टि व्यक्त गरेका थए । उनले मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए । नेताहरुले भाषण गर्दै गर्दा युवाहरुले भने मञ्च अगाडिबाट नेताहरुको विरोध गरेका थिए ।
गौरा पूजनका हिसाबले यसदिन महिलाहरूले महत्वपूर्ण मान्दछन् । महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् । आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली पनि भन्ने गरिन्छ ।
हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको कथन रहेको छ ।



























































