काठमाडौं- बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को कार्यविभाजन सार्वजनिक गरिएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेका हुन्।
कार्यविभाजनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी सम्हाल्नेछन्। मधुसूदन पौडेललाई कृषि, पशुपन्छी, वन तथा वातावरण, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी, कञ्चन चन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ तथा बिन्दु श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ।
यस्तै, किरण थापा मगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विनु रायमाझी पौडेललाई हाल विना विभागीय मन्त्रीका रूपमा राखिएको छ।
प्रदेश सरकारले मन्त्रालय पुनर्संरचना र प्रशासनिक सुधारलाई लक्षित गर्दै मन्त्रिपरिषद्को कार्यविभाजन गरिएको जनाएको छ। सरकारका अनुसार संगठन तथा व्यवस्थापन (ओएनएम) प्रक्रिया सम्पन्न भएपछि मन्त्रालय र मन्त्रीको संख्या थप व्यवस्थित बनाइने बताईएको छ।



























































