काठमाडौँ – नेकपा एमालेले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसंग जोडेर आवेगपूर्ण अभिव्यक्ति नदिन बिभिन्न राजनीतिक दलकोे ध्यानाकर्षण गराएको छ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरु खासगरि सत्ताबाट बाहिरिएसंगै विश्वका विभिन्न घटनाक्रमलाई नेपालसंग जोडेर आएका आवेगपूर्ण टिप्पणीहरु र प्रतिक्रियाहरुप्रति आपत्ति जनाउदै मुलुकको संवेदनशील अवस्थाप्रति गैरजिम्मेवार अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृति देखापर्न थालेको अवस्थामा सवै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले–कांग्रेस सरकारको संक्षिप्त समिक्षा गर्दे सरकारको प्रारम्भीक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।
त्यस्तै बैठकले पार्टीको नयाँ बार्षिक कार्ययोजनाको मस्यौदा तयारमा सामान्य छलफल गर्दै आगामी पोलिटव्युरो बैठकबाट अन्तिम रुप दिने निर्णय भएको उनले जानकारी दिए । नयाँ बार्षिक कार्ययोजनामा सदस्यता विस्तार, अभिलेखीकरण, नवीकरण प्रभावकारी बनाउने लगाएतका विषयमा समेटिएको ज्ञवालीले बताए ।
बैठकले यहि भाद्र २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ भने प्राकृतिक विपतिमा परी ज्यान गुमाउनेप्रति श्रद्धान्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको ज्ञवालीले जानकारी दिए ।



























































