काठमाडौं – दाङको लमही नगरपालिका–९ शिवखोलानजिक पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
बिहीबार बिहान करिब साढे ८ बजे बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए । दुर्घटनामा घाइते भएका २२ जनालाई उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेज लगिएको छ ।
बसमा सवार अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनामा घाइते हुनेमा अधिकांश बाँकेको बैजनाथ गाउँपालिका र बर्दियाको बाँसगढी नगरपालिकाका स्थानीय रहेका छन् ।
दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ ।


























