काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन् ।
उनले भनेका छन्, “फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाएकी पलेशाले जित्नुभएको कास्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय हो ।”
पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत गए राति सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी हुन् । पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।
हिजै भएको पहिलो चरणको खेलमा उन भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्। क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससङ १०–८ ले पराजित भइन् । दोस्रो चरणमा पराजित भएको कारण उनले रिपाचेजमा मौका पाउँदै फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गरेका थिइन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्ण पदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले पेरिस पारालम्पिकमा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई हार्दिक बधाई तथा शुभकामना दिदैं फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाउनुभएकी पलेशाले जितेको कास्य पदक नेपाल र नेपालीका लागि गर्वको विषय भएको पनि बताउनुभएको छ । pic.twitter.com/9USrOY7MMn
— President of Nepal (@OOP_Nepal) August 31, 2024



























































