काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी को सरुवा गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा नेपाल प्रहरीमा कार्यरत आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्री पोखरेलका अनुसार बैठकले आर्थिकसम्बन्धी केही नेपाल ऐनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ।
यस्तै, पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्ले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ तथा शिक्षा दशौं संशोधन नियमावली, २०८३ समेत स्वीकृत गरेको प्रवक्ता पोखरेलले बताएका छन्।
त्यसैगरी, बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ।
यसका साथै मन्त्रिपरिषद्ले राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ पनि स्वीकृत गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।



























































