काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक सरकारको पक्षमा एक ढिक्का भएर उभिने निष्कर्षसहित टुंगिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारका कामकारबाहीको पक्षमा सिंगो सत्ता पक्ष उभिने सहमति जुटेको हो ।
नेकपा एमालेमा मुख्य सचेतक महेश बर्तौलाले बैठक सरकार र संसदको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएको बताए । उनले भने, ‘सरकार र संसदको काम कारबाहीलाई कसरी सन्तुलित र व्यवस्थित ढंगबाट कसरी अघि बढाउने र सरकार निर्माणका बेला काँग्रेस र एमालेबीचका सहमतिलाई अघि बढाउने भन्ने विषयमा केन्द्रित थियो ।’
साथै उनले संविधान संशोधनलाई राष्ट्रको आवश्यकताका आधारबाट सबैको स्वीकार्यता अभिवृद्धि गरेर अघि बढाउने कुरामा प्रतिपक्षले छरेको भ्रमलाई चिर्दै संशोधनका लागि सत्ता पक्ष व्यवस्थित भएर अघि बढ्ने विषयमा छलफल भएको बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी थिए।


























































