काठमाडौं- दक्षिण एसियामा प्राविधिक क्षमता अभिवृद्धि, क्षेत्रीय सहकार्य तथा इन्टरनेट पूर्वाधारको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले एशिया प्यासिफिक नेटवर्क इन्फर्मेसन सेन्टर (APNIC) र दक्षिण एसिया नेटवर्क अपरेटर्स ग्रुप (SANOG) बीच काठमाडौंमा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।


ADVERTISEMENT


समझदारीपत्रमा APNIC का महानिर्देशक जिया रोङ लो र SANOG का अध्यक्ष रूपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन्। यस साझेदारीले दक्षिण एसियामा खुला, सुरक्षित, स्थिर र भरपर्दो इन्टरनेट विकासका लागि दुवै संस्थाबीच दीर्घकालीन सहकार्यको आधार तयार गरेको छ।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार दुवै संस्थाले दक्षिण एसियाभरका नेटवर्क इन्जिनियर तथा इन्टरनेट सेवा प्रदायकहरूका लागि संयुक्त रूपमा प्राविधिक तालिम, क्षमता अभिवृद्धि कार्यक्रम, कार्यशाला र सम्मेलन सञ्चालन गर्नेछन्। साथै, आईपीभी–६ (IPv6), रिसोर्स पब्लिक की इन्फ्रास्ट्रक्चर (RPKI) र रुट ओरिजिन भ्यालिडेसन (ROV) जस्ता आधुनिक इन्टरनेट प्रविधिको प्रयोगलाई विस्तार गर्दै नेटवर्क सुरक्षा र सञ्चालन प्रणालीलाई थप सुदृढ बनाइनेछ।

समझदारीअन्तर्गत SANOG सम्मेलनसँगै APNIC का उप–क्षेत्रीय कार्यक्रमहरू आयोजना गरिनेछन्। दुवै संस्थाले एकअर्काका कार्यक्रममा पाँच जनासम्म प्रतिनिधिलाई निमन्त्रणा तथा निःशुल्क दर्ताको सुविधा उपलब्ध गराउने सहमति पनि गरेका छन्।

यसैगरी APNIC ले SANOG का कार्यक्रमका लागि अन्तर्राष्ट्रिय प्रशिक्षक तथा प्राविधिक विशेषज्ञ उपलब्ध गराउनेछ भने SANOG ले APNIC को नीति निर्माण तथा सामुदायिक गतिविधिमा दक्षिण एसियाली प्राविधिक समुदायको सक्रिय सहभागिता बढाउन सहकार्य गर्नेछ।

APNIC अष्ट्रेलियाको ब्रिसबेनस्थित एशिया–प्रशान्त क्षेत्रको क्षेत्रीय इन्टरनेट रजिस्ट्री हो भने SANOG दक्षिण एसियाका नेटवर्क अपरेटर तथा प्राविधिक समुदायको गैरनाफामूलक क्षेत्रीय संस्था हो। दुवै संस्थाबीच भएको यो सहकार्यले दक्षिण एसियामा सुरक्षित, दिगो र विश्वसनीय इन्टरनेट पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।