– कुमार दाहाल
हिन्दुस्थानभित्र नेपाल भू–खण्डको छुट्टै परिचय छ। हिमवत खण्डको एउटा भाग कसरी देश बन्यो भन्ने प्राचीन प्रमाणहरु यथेष्ट छैनन्। यो प्राचीनता नै नेपालको चिनारी हो। हिन्दुकुश पर्वतमालाको काख नेपालको संसारमा आफ्नै चिनारी छ। यो चिनारी भूगोलको मात्र होइन । यसको विशेषता दक्षिणको हिन्दुस्थान र उत्तरको चीनभन्दा फरक छ। यो फरक नै नेपालीपन हो।
यो नेपालीपनमा स्वधर्म ,आर्य संस्कृति र प्रकृति पूजकको मात्र होइन, उत्तर र दक्षिण दुवैतर्फका धार्मिक, भाषिक, जातीय, सांस्कृतिक र जैविक गुणहरूको समिश्रण पाइन्छ । कालान्तरमा यही विशेषता नेपाली मौलिकपनले चिनिन थाल्यो। यो चिनारी नै नेपालको प्राग ऐतिहासिक परिचय पनि हो। विदेशीहरूले नेपाललाई हेर्ने गहिरो दृष्टिकोण र दृश्य पनि यही हो। यसैभित्र नेपालीपनको बौद्धिकता खोजिन्छ। यो बौद्धिकताले नेपालको अर्थतन्त्रलाई विगतमा धानेको थियो।
प्राचीन मध्यकाल र आधुनिककालको पूर्वार्धरसम्म नेपाली ऊन, वास्तुकला, मूर्तिकला, ललितकला, गहना, कृषि, जडीबुटी आदिमा नेपाली बौद्धिकता छिमेकी र समुद्रपारसम्म परिचित थियो। पछि पाल्पाको करुवा, भोजपुरको खुकुरी, इलामको चिया, धनकुटाको सुन्तला आदिले नेपाली बौद्धिकता चिनायो । र, यी अर्थतन्त्रका मेरुदण्ड पनि थिए । यसलाई महेन्द्रको राष्ट्रवाद भनेर राजनीतिकरण गरियो ।
गुन्द्रुक, हँसिया, खुकुरी, कोदालो, हलो, जुवामा नेपाली बौद्धिकता मिसिएको कुरा नीति निर्माताले पत्तै पाएनन् वा उदारीकरणको प्रभावमा अन्धा भए। जब यी विषय गाउँबाट विस्थापित भए र आधुनिकीकरण भएनन्, बिस्तारै नेपाली अर्थतन्त्र निश्चित व्यक्ति वा वर्गको हातमा ध्रुवीकृत हुँदै गयो।
अब त यी नेपाली उत्पादन र सीपमा विदेशी उत्पादकको ट्याग लाग्न थालेको छ। यिनै विषयमा हामी राजश्व सङ्कलन गरेर बसेका छौं। किनकि हामीलाई उत्पादन होइन। अर्थतन्त्र धान्न राजश्व चाहिएको छ।
पृथ्वीनारायण शाह, जङ्गबहादुरदेखि राजा महेन्द्र हुँदै पछिका केही शासकले नेपालीपनभित्र नेपालको विकास खोजे । तर, त्यो अटुट रहेन ।जसरी हिन्दुस्तानले भारतीय संस्कृति र इन्डियन विचारलाई भाषा, सिनेमा र माँको आदर्शले राष्ट्रवादमा बौद्धिकता जन्माउँदै लग्यो। किनकि नेहरु डक्ट्रिनभित्र प्रबल राष्ट्रवादको हतियार भाषा र संस्कृति नै थियो। यही राष्ट्रवादको सिको राजा महेन्द्रले पनि गरे। त्यसपछि नेपाली चिनारी गुन्द्रुक, गुन्यौँ चोलो, तीज, दशैँ, तिहार जस्ता सामाजिक सांस्कृतिक प्रतीकमा राष्ट्रवाद फैलँदै गयो । जुन आज पनि त्यत्तिकै अटुट छ । तर, अहिले यी नेपाली चिनारी र जनजनको बौद्धिकता गाउँबाट विस्थापित हुँदै छ र आधुनिक पिढीँ यो नेपालीपनभित्र रोजगारी र जीवन खोज्न तयार छैन । यो नेपालीपनले अब अर्थतन्त्रमा टेको दिन छोडेको छ। नेपाली मौलिक उत्पादन, ट्रेडमार्क र मौलिक सम्पत्तिको रुपमा रहेनन् र यो देशभित्र रोजगारीको क्षेत्र पनि रहेन।
अहिले यस्तो सीप र क्षमता भएकाहरु विदेश जाँदैछन्। यही सीप र क्षमतामा विदेशमा आकर्षक पेशा उनीहरू पाउँदैछन्। यो नेपालीपन र बौद्धिकता विश्वका निर्वासित ठाउँमा त्यही देशको संस्कृति र संस्कारमा बिलाउँदै छ।
देशभित्र नेपालीपनको बौद्धिकता सिद्धिँदैछ। यो बौद्धिकताको रक्षा विदेशको नक्कलबाट हराउँदै छ। यो बौद्धिकता विश्वविद्यालयका प्रमाणपत्रले जोगाउन सकिँदैन। यसलाई जनजनमा घुलमिल भएको सीप, अनुभूति र कालीगढीले चिनाउँछ । जसको रक्षा गर्ने सोच आज पुरानो मानिन्छ।
कुनै दिन नारायणगोपाल र तारादेवीको गीत सुन्दा साँझ पूलकित हुन्थ्यो। वनैभरि, मनैभरि पाण्डव सुनुवार र मिरा राणाका गीतहरू गुञ्जिन्थे। पाखा पखेरामा रातो र सूर्य चन्द्र सुन्दा जीउ सिरिङ्ग हुन्थ्यो। यो नेपालीपन आज सोसल मिडियामा सीमित भएको छ। सायद आधुनिकताले होला यसभित्रका नेपालीपनहरु विदेशमा पनि कमै गुन्जिन्छन् । अब त हाम्रा लय, संगीत, राग र लापहरू विदेशी स्टेज र कन्सर्टहरूमा छुट्टै नेपाली आधुनिकता लिएर बर्सिँदै छन् । यिनले हाम्रो नेपालीपनको बौद्धिकतालाई कहाँनेर समेट्छन ? कतै हामी आफ्नो भू–खण्डलाई बिर्सिँदै त छैनौँ ? लोकतन्त्रको प्रसाद यही होला त ? साझा प्रकाशन, प्रज्ञा एकेडेमीमा पनि प्रजातन्त्र पुग्यो । कला, संस्कृति, भाषाको गहिरो अध्ययन केन्द्रसमेत आज नेपालमा छैन । के यसभित्र पनि हामीले राजनीति गर्न जरुरी थियो ?
नेपालको आध्यात्मिक बौद्धिकता फरक छ । धार्मिक द्वन्द, युद्ध नेपालमा कहिल्यै भएन । दक्षिणको प्रभाव धेरै रह्यो तर आन्तरिक सद्भाव कहिल्यै टुटेन । यहाँका मठ, मन्दिर, स्तुपामा प्रकृतिपुजक र शैव दर्शन दुवैको समिश्रण छ। तन्त्र, मन्त्र र शास्त्रमा नेपालको सनातन हिन्दुको परिचय पाइन्छ । शिवपुरी बाबा लगायतले चिनेको आध्यात्मिक नेपाल यही हो । तर, यो धरातलमा हाम्रो आध्यात्मिक दर्शन संस्थागत हुन सकेन र अहिले आध्यात्मिक धर्म गुरुहरुले हिन्दुत्व र धर्मको नाममा हाम्रोमा नाफा कमाउन थालेका छन् । यसलाई हामीले सामाजिक विकृतिका रूपमा लिन सकेनौँ । शिक्षाबिनाको संस्कृति यस्तै हुन्छ।
अहिले सरल आध्यात्मिक नक्कलमा हाम्रा धर्म सम्प्रदाय आधुनिक हुँदै गए। यथार्थ नेपाली मौलिकपनभित्रको आध्यात्मिकता खोजिएन। आज अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका देशमा नेपाली पुराण लाग्दैछ। कृष्णको लीला त्यहाँ सुनिँदैछ। जुन कृष्णको लीला गर्ने भूमि नै होइन ।
यो आध्यात्मिक नक्कली बौद्धिकता विस्थापित भएर केही फरक पर्दैन। तर, हाम्रो प्रकृति पूजन, तन्त्र र मन्त्रको मौलिकता गुम्नु भएन। यसैभित्र नेपाली बौद्धिकता छिपेको छ।
विदेशमा १० वर्ष, २० वर्ष, ५० वर्ष, १०० वर्ष सम्म उत्पादन दिने उद्योगका योजना बन्छन् । लगानी हुन्छ। मानवस्रोत विकासमा अधिकतम लगानी हुन्छ । उनीहरु निजी क्षेत्रलाई पूर्णरूपमा प्रोत्साहन गर्छन् । उद्योग व्यापारलाई स्वतस्फुर्त बनाउन यसको राजनीतिकरणबाट जोगिन खोज्छन् । भ्रष्टाचार गर्दिनँ र नतिजा दिन्छु भनेर त्यहाँ कर्मचारीतन्त्रले काम गर्न पाउँछ। योग्यताको कदर हुन्छ। नेपालमा यो किन हुँदैन। किनकि नेपालको मौलिकपन, बौद्धिकता र आफ्नै विरासतमा उद्योग, उद्यमी र व्यापारको पहिचान नै भएन ।
कुनै समय नेपालकै परिचय दिएर निर्यात हुने गलैँचा, पश्मिना, मूर्ति, भाँडाकुँडा ,गहना र उत्पादन गर्ने मानवस्रोत अहिले तिनै देशमा प्रवासनमा गयो र अहिले हाम्रो नेपालीपनको उत्पादन तिनै देशको परिचयबाट हुन्छ र हामी त्यहीबाट जनै, टपरी, सिन्का, गुन्द्रुक मगाउँछौ र उपभोग गर्छौं ।
यो उपयोगितावादमा हामी नजानेर फसिसक्यौँ। जे होस् उनीहरुले हाम्रो नेपालीपन जोगाइदिएका छन्। जोगाइदिनेहरूलाई नेपालमा भ्रष्टाचार होस् वा बौद्धिक सम्पत्ति पलायन होस् त्यति ख्याल हुँदैन किनकि अहिले संसार व्यापारमा छ । नाफामा छ। यो नचिन्नु मूर्खपन बाहेक अरु केही होइन।
विक्रम सम्वत् २०५० भन्दा अगाडि घरघरका राडीपाखी, डोको, नाम्लो, कोदालो, हसिया जस्ता मौलिक औजारहरूको उत्पादनमा उदारीकरण लाग्यो । औजार कारखानाहरु पनि बिक्री भए । यसको सट्टा विदेशमा उत्पादित मेसिनरी औजार आए । मलखाद आयो। बिउ बिजन आयो ।अहिले आफ्नै माटोमा उत्पादन भएको फलको बिउ लाग्दैन । एसडीजीज सूचकमा जिन बैंकको स्थापना गर्ने लक्ष्य थियो। जिन बैंक स्थापना भएको भए मात्र पनि हामी माटो अनुकूल आफ्ना मौलिक बिउ बिजन संरक्षण गर्न सक्थ्यौं। सायद अरु लक्ष्यहरू पूरा गर्न सजिला थिए। तर यो बौद्धिकता संरक्षण गर्ने सूचक कहाँ छ। राष्ट्रिय योजना आयोगको प्रगति सूचकमा कुनै तथ्याङ्क त होला।
बिउ बिजन र मल नपाएर सानातिना उत्पादक र श्रमिक सहर पसे। सहरमा गल्ली सौन्दर्यकरणको नाममा यिनीहरू लखेटिएर अहिले कि विदेशमा कि गाउँमा अलमलिएर बसेका छन्। अहिलेका नीति निर्माताले यो कुरोको भेउ पाउँदैनन्। सत्ता शक्ति र स्रोतको उन्मादमा प्रशंसकहरूको वरिपरि उनीहरु नेपालीपनमा खासै चासो राख्दैनन् र उद्योग, व्यापारमा संसारमा नेपाली मौलिक उत्पादन र सेवा खोज्नेहरू प्राय भेटिन छोडेका छन्। हामीले अहिले गुमाएको बजार यही हो।
कृषि क्षेत्रको ज्ञान, विज्ञता, सीप अब गाउँमा रहेन । पहाडका माथिल्ला सहरसम्म बेमौसमका छिमेकी मुलुकका तरकारी, फलफुल र खाद्यहरूमा स्वयम् कृषकहरु रमाउन थालिसके। हाम्रा गाउँघरमा उत्पादनभन्दा छिटो रेमिटान्स पुग्छ र कृषि क्षेत्रको मौलिकता गुम्दैछ।
सोरठी, गाथा, भजन र योसँग जोडिएको संस्कृति लोप हुँदैछ। यसको कार्बन कपीले अझ यो विकृत बन्दैछ। हामीले खोज्ने नेपाली बौद्धिकता यसैभित्र हो। अब त विश्वविद्यालय, विद्यालयमा नेपाली, संस्कृति, पुरातत्व, इतिहास पढ्ने विद्यार्थी पाउन छाडि सक्यो । के यो विश्वव्यापीकरणको प्रभाव हो ? वा मानव सभ्यताको निरन्तर इभिलुसन । बौद्धिकता गन्थन र विश्वविद्यालयका प्रमाणपत्रमा मात्र हुँदैन यो अनुभूति र व्यवहारमा बढी तिखो हुन्छ । गलत राजनीति प्रयोग सबैतिर हुन्छ तब मौलिक बौद्धिकता या त गुमसुम हुन्छ या विस्थापित । अहिले नेपाली बौद्धिकताको अवस्था यही छ।
(लेखक नेपाल सरकारका सह सचिव हुन् ।)



























































