काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले मौलिक हकका रुपमा प्रत्याभूत स्वास्थ्य सेवालाई कार्यान्वन गर्नु सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताएका छन् ।
बिहीबार चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गरीब तथा निमुखा जनतालाई केन्द्रमा राख्दै संविधानको मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताएका हुन् ।
दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नविनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्नेतर्फ सरकार र नीजि क्षेत्रले ध्यान दिने उनले विश्वास व्यक्त गरे ।
उनले क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक जनशक्ति उत्पादन गर्न तथा अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराए ।
राष्ट्रपति पौडेलले राष्ट्रियस्तरको क्यान्स अस्पताल हाल क्यान्सरका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणमा अगाडि बढेको भन्दै खुसी व्यक्त गरे ।
त्यस्तै कार्यवाहक प्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाश मान सिहले बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालले बिरामी मैत्री सेवा प्रदान गर्दै आएकाले अस्पताललाई आवश्यक उपकरण खरिदको लागि सरकारको तर्फ बाट आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालको बार्षीक प्रतिबेदन प्रस्तुत गर्नु हुदै बीपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालले विभिन्न प्रदेशमा क्यान्सर रोगको उपचार सेवा बिस्तार गर्ने जानकारी दिए ।
उनले अस्पतालको स्तरोन्नतीको लागि पेट स्क्यान र साईक्लोटोन मेसिन खरिद गर्ने योजना रहेको जनाए । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।